
गत जेठमा आफ्नै घरमा मृत फेला परेकी आरती साहकी आमा र भाइलाई प्रहरीले पक्राउ गरेको छ ।
आरतीको न्यायको लागि सोमवार दिउँसो ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
गत मंसिरमा सर्वोच्च अदालतले आरतीका श्रीमान् मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आरतीका ससुरा मदनमोहन भने एक लाख धरौटीमा छुटेका थिए ।
आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।