११ साउन २०८३, सोमबार

रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपः अनिश्चितकालीन निषेधाज्ञा

फागुन ५, २०८०
काठमाडौं
रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपः अनिश्चितकालीन निषेधाज्ञा

रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिवार अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रहरी कार्यालय, रौतहटका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिवार दुई पक्षबीच झडप भएको थियो ।  एक समुदायका मानिसको ढुंगा प्रहारबाट अर्को समुदायका मानिस घाइते भएका छन् ।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको ती अधिकारीले बताए । 

रौतहट प्रहरीका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि डीजे बाजा बजाएको भन्दै अर्को पक्षले अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरू बाटोमै मूर्ति राखेर बसेपछि झडपको अवस्था सिर्जना भएको थियो । पछि प्रहरी र स्थानीयको पहलले सहमति भएपछि स्थिति समान्य भएको थियो । 

तर केही उच्छृंखल व्यक्तिले ढुंगामुँडा गरेपछि स्थिति फेरि तनावग्रस्त बनेको हो । यसले झडपको स्थितिसम्म ल्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्