
एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ले क्यानडा–११ लाई २१७ रनको मध्यम लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा आइतवार जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको छ ।
नेपालका लागि बसिर अहमदले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५० रन जोडे । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशिद खानले ४० रन बनाए ।
अविजित रहेका बसिरले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
यस्तै मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जीसी र अर्जुन कुमाल ४–४ रन बनाएर आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।
बलिङमा क्यानडाका कप्तान साद बिन जफरले सर्वाधिक ३ विकेट लिए ।
तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ‘ए’ले क्यानडा–११ को सामना गरिरहेको हो ।
प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर राष्ट्रिय टोली नपरेका खेलाडीहरू नेपाल ‘ए’मा समावेश छन् ।
यो अभ्यास खेल सिनियर टोलीमा पर्ने ढोका ढक्ढक्याउने अवसर पनि हो ।
दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेलेको हो । क्यानडाले नेपालसँग यसै साता तीन एकदिवसीय खेल हारेको थियो ।