
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाइ दुबईको उडानमार्फत काठमाडौं आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विशेष सूचनाको आधारमा सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई सोमवार राति विमानस्थलको आगमन एरियाबाट पक्राउ गरिएको हो ।
चेकजाँचको क्रममा उनको साथबाट सुन जस्तो देखिने पहेँलो रङ्गको अर्धठोस वस्तु तीन पोका बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।