
रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको वृहत् खोप अभियान अन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ ।
खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो ।
स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ (साङ्केतिक चिह्न) गरिएको छ । बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ ।
कैलालीसहितका जिल्लामा विपन्न समुदाय रहेको ग्रामीण वस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ ।
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले टोलबस्तीमा पाल्तु कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप र बन्ध्याकरण अभियान थालिएको बताए ।
'जिल्लाको गौरीगङ्गा नगरलाई रेबिज रोगविरुद्धमा पूर्ण खोपयुक्त नगरपालिका बनाउने योजना छ', उनले भने, 'खोप दिइएका कुकुर, बिरालोमा रोग प्रतिरोधी क्षमताका लागि खोप दिएको तीन महिना पूरा भएपछि बुस्टर डोज लगाउने गरी खोपकार्ड वितरण गरेका छौं ।'
रेबिज रोग तातो रगत भएका स्तनधारी पशुपक्षीमा लाग्ने ‘लिस्सा’ भाइरसबाट हुने प्राणघातक रोग रहेको डा. अवस्थी बताउँछन् । खोप लगाउन सकिएमा यो रोगबाट बच्न सकिन्छ ।
यो रोग लागेको पशुले मानिसमा टोक्दा यसको भाइरस दिमाग वा गिदीमा पुगेपछि रोगको लक्षण देखिन शुरू हुन्छ ।