
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा व्यवस्थापन निर्देशक (एमडी) क्याम्पबेल विल्सनबीच आपसी सहकार्यका विषयमा छलफल भएको छ ।
भारतको नयाँ दिल्लीस्थित एयर इन्डियाको मुख्यालयमा बिहीवार भएको छलफल सकारात्मक रहेको निगमले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यसबाट दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोगमा अभिवृद्धि हुने विश्वास गरिएको पनि निगमले उल्लेख गरेको छ ।
निगम र एयर इन्डियाका उच्चपदस्थ अधिकारीहरूबीच भएको पहिलो चरणको छलफलपश्चात् कार्यकारी अध्यक्ष अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले एयर इन्डियाका सीईओ विल्सनसँग थप छलफल गरेको थियो ।
‘कार्यकारी अध्यक्ष युवराज अधिकारी र एयर इन्डियाका सीईओ तथा एमडी क्याम्पबेल विल्सनबीच आपसी सहकार्यका विषयमा छलफल भएको छ,’ निगमले फेसबूकमा लेखेको छ, ‘यसबाट दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोगमा अभिवृद्धि हुने विश्वास गरिएको छ ।’
