
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, शहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे ।
‘हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय शहरहरूलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,’ गृहमन्त्री लामिछानेले भने, ‘रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला कि भन्ने जिज्ञासा पनि आएको छ, यदि यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरि बन्द गर्न सकिन्छ ।’
बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक विकृति आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरूले जिज्ञासा राखेका थिए । समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण हुने, सुरक्षामा चुनौती थपिने, विकृति बढ्न सक्ने भन्दै उक्त विषयमा सचेत रहन आग्रह गरेका थिए । रात्रिकालीन व्यवसाय सञ्चालनबाट हुने फाइदा मात्रै नभएर यसका बेफाइदाबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।
‘रात्रिकालीन व्यवसाय सञ्चालन हुनु भनेको डान्सबार मात्रै सञ्चालन गर्ने, सङ्गीत मात्रै बज्ने र विकृति नै हुन्छ भन्ने होइन,’ समितिका सदस्य श्रेष्ठको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री लामिछानेले प्रश्न गरे, ‘राति नेपाल भित्रिने आन्तरिक तथा बाह्य पर्यटकले खाना कहाँ खाने ? कहाँ बस्ने ?, रात्रिकालीन व्यवसाय सञ्चालन भयो भने यी सेवाबाट उहाँहरू विमुख त हुनुपर्दैन ?”