३१ असार २०८३, बुधबार
कर्णालीका मुख्यमन्त्रीको राजीनामा प्रकरण

मुख्यमन्त्रीबाट राजीनामा दिएका शर्माको असन्तुष्टि– गठबन्धनको नाममा सत्ताको खेल उदांगियो

चैत २१, २०८०
काठमाडौं
मुख्यमन्त्रीबाट राजीनामा दिएका शर्माको असन्तुष्टि– गठबन्धनको नाममा सत्ताको खेल उदांगियो

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको बैठकमा राजीनामा दिएको वक्तव्यमा गठबन्धनको नाममा सत्ताको खेल हुँदा अस्थिरता आएको उल्लेख गरेका छन् । 

नेकपा (एमाले)का निम्ति मुख्यमन्त्री छोड्नुपरेपछि शर्माले केन्द्रको सोझो असर पर्दा प्रदेशमा पनि उस्तै सत्ताको खेल भएको बताएका हुन् । 

‘पछिल्लो समय केन्द्रीय राजनीतिमा आएको परिवर्तनले गर्दा मेरो नेतृत्वको सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको र संवैधानिक प्रक्रियाअनुरुप मैले विश्वासको मतका लागि अगाडि बढिसकेको सन्दर्भमा प्रदेश सरकारको निरन्तरता नदिने तथा विश्वासको मत समेतका लागि अनुरोध गर्न नसकिने परिस्थिति उत्पन्न भयो,’ उनले भनेका छन्, ‘यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ । प्रदेश सरकारको स्थिरताबिनाको समृद्धि सम्भव छैन ।’

गठबन्धनको नाममा हुने सत्ताको खेलले प्रदेश र दलीय पद्धतिलाई नै कमजोर बनाउने उनको भनाइ छ । 

‘संघीयताको मर्म र भावनाविपरीत सामन्ती एकात्मक मानसिकता राखेर गठबन्धनको नाममा सत्ताको खेल भइरहनाले विश्वासको संकट हुने, दलीय प्रणाली र सघीयतालाई नै कमजोर बनाउने तथा राजनीति प्रति वितृष्णा पैदा हुँदै जाने देखिन्छ,’ शर्माले भनेका छन्, ‘जसका कारण देश र जनता कसैको पनि भलाइ हुन सक्दैन र जनतामा नैराश्यता बढ्दै जान्छ ।’

केन्द्रको अंकगणितको सोझो असर प्रदेशमा पर्दा स्वविवेक, स्वायत्ततता र स्वतन्त्रताको अभ्यास गर्न नपाएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । 

‘केन्द्रीय राजनीतिमा देखिएको अंकगणितको सोझो असर प्रदेशमा पर्ने जुन अवस्था देखिने गरेको छ । यसबाट कम्तीमा प्रदेशले आफ्नो स्वविवेक, स्वायत्तता र स्वतन्त्रता प्रयोग गर्न पाएमात्र वास्तविक अर्थमा संघीयतालाई बलियो बनाउन सकिन्छ’ उनले थपेका छन्, ‘अतः म अनुरोध गर्न चाहन्छु कि कर्णाली प्रदेशले कम्तीमा पनि संसदीय खेलमा एक मानक र पर्यादा कायम राख्न सकोस् । यसो गर्न चुक्दा हामी गणतन्त्र र संघीयतालाई असफल बनाउने कारक मात्र बन्नै छेनौं, बरु कर्णालीबासीको सुन्दर सपना र भविष्यमाथि पनि कुठाराघात गरिरहेका हुनेछौं ।’

विश्वासको मत लिनुपर्ने गरी बैठक आह्वान गरिए पनि परिवेश बदलिँदा आफूले पदबाटै राजीनामा दिनुपरेको शर्माले जानकारी गराए । 

‘बैठक सञ्चालन हुँदै गर्दा, रोस्ट्रममा आउँदै गर्दा विषय अलि फरक थियो । विश्वासको मत लिने कुरा थियो । तर परिवेश बदलियो । त्यो बदलिएको परिवेशअनुसार विश्वासको मत लिने परिवेश थियो । म प्रदेशसभामा विश्वासको मत लिन गइरहेको छैन,’ राजीनामा घोषणा गर्दै उनले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखी आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको कुरा सभासमक्ष जानकारी गराउँछु ।’ 

केन्द्रीय समीकरणअनुसार एमालेले कर्णालीको मुख्यमन्त्री लिने भएपछि आफ्नै दल माओवादी केन्द्रकै दबाबमा राजीनामा दिनुपरेपछि शर्मा असन्तुष्ट बनेका छन् । अब आलोपालोमा एमाले र त्यसपछि माओवादीले कर्णालीमा सरकार बनाउने दाबी नेताहरू गरेका छन् । 

मुख्यमन्त्रीमा रहिरहन उपयुक्त अवस्था नभएको भन्दै शर्माले विश्वासको मत नै नलिइ बुधवार पदबाटै राजीनामा दिएको घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्