
राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् ।
तनहुँको भीमादमा रहेको जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न उनी तनहुँ पुगेका हुन् ।
साथै क्याम्पसको १६औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा राष्ट्रपति सहभागी हुने छन् ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको क्याम्पसले जनाएको छ ।
कार्यक्रम उद्घाटन अगाडि भीमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लबलगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।
विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो । क्याम्पसमा भीमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् ।
अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।