
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले मानिसबाट भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताएका छन् ।
सोमवार हेटौंडामा आयोजित 'विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तीकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा' भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौं प्रदेश स्तरीय जुनियर युवा रेडक्रस शिविर कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पर्यावरण विनाश, जलवायु परिवर्तन र पृथ्वीको तापक्रममा निरन्तरको वृद्धिले मानव जातिको अस्तित्व नै संकटमा पर्दै गइरहेको बताए ।
उनले हिमालमा हिउँ पग्लने, समुन्द्री सतहको वृद्धि, अत्याधिक कार्वन उत्सर्जन र वायुमण्डलमा बढिरहेको प्रदूषणले पृथ्वीको अस्तित्व पनि संकटमा पर्दै गइरहेको बताए ।
उनले मानिसद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताए ।
युवाहरू राष्ट्रका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रका अग्रदूत तथा परिवर्तनका बाहक भएको भन्दै उनीहरूले मानवीय सेवा कार्यलाई प्रभावकारी बनाउनु पर्ने उनको भनाइ थियो ।
उनले युवाहरूले समुदायको दुःख र पीडामा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।