
नेपाली सेनाले स्नातक अधिकृत क्याडेट तालिमको समापनसँगै आयुक्त पद प्रदान गरेको छ ।
बुधवार भक्तपुरको खरिपाटीमा आयोजित एक कार्यक्रममार्फत उनीहरूलाई आयुक्त पद प्रदान गरिएको हो ।
अधिकृत क्याडेट तालिममा सर्वोत्कृष्ट हुने सिंस ६१ का दीपेन्द्र कठायत, महिलातर्फ दीपा घिमिरे, उत्कृष्टहुनेहरू सिंस ५१ का विवेक अधिकारी र मनीष खड्का, अन्तर्राष्ट्रियतर्फ बङ्गलादेशका सेपुर रहमान खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए ।
स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उनले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
अहिलेसम्म २४ जना विदेशीले अधिकृत क्याडेट तालिम लिइसकेकोमा बङ्गलादेश, माल्दिभ्स र जाम्भियाका एक एक जनाले तालिम पूरा गरेका छन् ।
कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए ।
कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।