
कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको हो ।
नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका-६ का सत्यबहादुर शाहीले बताए । “एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेको छ”, उनले भने, “गाउँमै नुन पाउँदा खुसी छौँ ।”
विगतमा नुन लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो । तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए ।
यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन् ।