२५ जेठ २०८३, सोमबार

आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार, विमानस्थल जोड्ने केबलकार निर्माण गर्न डीपीआर तयार​

बैशाख ५, २०८१
कालीकोट
आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार, विमानस्थल जोड्ने केबलकार निर्माण गर्न डीपीआर तयार​

कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो । 

कोटदरबार क्षेत्र अग्लो स्थानमा रहेकाले दैलेखको पश्चिम र अछामको पूर्वी भागका साथै कालिकोटको अधिकांश भू–भागको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको खाँडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए ।

सदरमुकामबाट नजिकै भएकाले स्थानीय बिहान मर्निङ वाक गर्न तथा बेलुका आरामका लागि पनि यहाँ पुग्ने गरेका उनको भनाइ छ ।

'सदरमुकाम बस्ने कर्मचारी, व्यापारी र स्थानीय जिल्लाको दृश्य अवलोकन गर्न तथा आराम गर्न यहाँ आउने गरेका छन् । बिदाका दिन तथा चाडपर्वमा यो क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छ', उनले भने ।

स्थानीय तथा प्रदेश सरकारबाट कोटदरबार क्षेत्रमा पर्यटकीयस्थल संरक्षणका लागि ग्याबिन तार, तीन वटा प्रतीक्षालय, खानेपानीको धारा र राजा मलय बम्मको सालिक राख्न आवश्यक पूर्वाधार निर्माणलगायत काम भइरहेको स्थानीयवासी नरेन्द्रबहादुर शाहीले बताए ।

'यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय र प्रदेश सरकारले केही रकम विनियोजन गरेर गोरेटो बाटो, प्रतीक्षालय, मन्दिर तथा अन्य संरचना नभएको थियो । ती संरचनाको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन्', उनले भने । स्थानीय सरकारमा यसको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत रुपमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

नेपालमा बाइसे–चौबिसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कोटदरबार क्षेत्र अहिले पर्यटकीय क्षेत्र बनेको पूर्वमान्म गाउँ विकास समितिका अध्यक्ष अजबहादुर शाहीले बताए । 'यो दरबारमा विसं १३४४ सम्म मलय बम्मका सन्तानले दरबार बनाएर राज्य गरेका थिए', उनले भने, 'बम्मका सन्तानले पछि दरबार छोडेर गएसँगै यो भग्नावशेषमा परिणत भएको छ ।'

बाइसे–चौबिसे राज्यका राजाहरु अग्लो टाकुरामा बस्ने भएकाले कोटदरबार पनि त्यही ऐतिहासिकतासँग जोडिएको खाँडाचक्र–१ का प्रेमबहादुर शाहीले बताए । 'यो दरबार क्षेत्रमा प्रवेश गर्दा रानी ढुङ्गा, कैदी राख्ने ठाउँ र घोडाबास छुट्टाछुट्टै स्थानमा देखिन्थ्यो', उनले भने, 'अहिले ती स्थानमा भग्नावशेष मात्रै देखिन्छ । संरक्षणका लागि केही प्रयास भए पनि सदुपयोग हुन सकेको छैन ।'

नगरपालिकाले रु २४ लाखको लगानीमा कोटदरबारको घेराबार गरेको थियो । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ५० लाख बजेट खर्च गरेर केही संरचना बनाएको भए पनि संरक्षणको अभावमा अहिले जीर्ण हुँदै गएको स्थानीय बजुरे खड्काले जानकारी दिए।

'पहिले स्थानीय सरकारले संरक्षणका लागि केही रकम विनियोजन गरेर केही संरचना निर्माण भएका थिए', उनले भने, 'अहिले ती बनेका संरचना पनि भत्किने अवस्थामा पुगेका छन् । यहाँ नयाँ संरचना बनाउनुभन्दा पनि भएका संरचनाको संरक्षण गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ ।'

आन्तरिक पर्यटकको रोजाइमा परेको कोटदरबार क्षेत्रलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना तयार गरिरहेको नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । 

'स्थानीय र प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि काम गर्दै आएको छ', उनले भने, 'यसका लागि हामीले गुरुयोजना तयार पारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने गरी काम गरिरहेका छौं ।'

कोटदरबारबाट कोटबाँडाको सुनथराली विमानस्थल जोड्ने केबलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको भन्दै केबलकार बनेपछि यहाँ आन्तरिकका साथै बाह्य पर्यटकको आगमन पनि बढ्ने उपप्रमुख शाहीले बताए ।

'केबलकार निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ ।

कुन ‘मोडालिटी’मा बनाउने भन्ने विषय टुङ्गो नलागेकाले अहिले केबलकारको काम अगाडि बढेको छैन', उनले भने, 'केबलकार बनेमा कोटदरबार क्षेत्र पर्यटकीय हबका रुपमा विकास हुँदै जानेछ । यसले यहाँका स्थानीयवासीको जीवनस्तर उकास्न पनि टेवा पुर्‍याउनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्