३० जेठ २०८३, शनिबार

जलजला दम्पती हत्या : २०० जनाभन्दा बढीसँग सोधपुछ, अभियुक्तसम्म पुग्न सकेन प्रहरी

बैशाख ५, २०८१
पर्वत
जलजला दम्पती हत्या : २०० जनाभन्दा बढीसँग सोधपुछ, अभियुक्तसम्म पुग्न सकेन प्रहरी

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ ।

गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन । चैत १९ गते सोमवार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीसमेत घटनास्थल वरिपरी नै छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीले समेत अनुसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताए । 

'प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सीआईबीको टोली पनि अनुसन्धानमा जुटेको छ', उनले भने, 'हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।'

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । 'घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एक जनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको उनले बताए।

'त्यसको अनुसन्धान गरिराखेका छौं', डीएसपी भुसालले भने । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरि र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुई सय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताए ।

दम्पतीको हत्या भएको दुई हप्ता बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका– २ का वडाध्यक्ष प्रकाश जिसीले बताए ।  घरमा ती दम्पती मात्रै बस्दै आएका थिए । दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका थिए ।

उनीहरूको हत्या योजनाबद्ध र पेसेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ । साथमा मोबाइललगायत अन्य कुनै पनि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ ।

जिसी दम्पतीले पोखरामा जग्गा किन्न भन्दै सहकारीबाट ऋण लिएर घरमा राखेको हुनसक्ने आशङ्कामा लुटपाटकै लागि हत्या गरिएको देखिन्छ, भने उनीहरूको लगाएका गर गहनासमेत लुटिएको छ ।

'कुनै कुनै घटनाका दोषी पत्ता लगाउन लामो समय लाग्नसक्छ, हामी तथ्यको नजिक पुग्दैछौं, केही दिनमा सफलता मिल्नेमा आशावादी छौं', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्