
विराटनगरको सीमावर्ती क्षेत्र रानीमा झडप भएको छ ।
बुधवार रामनमवी पर्वमा मनाउन हिन्दू सम्राट सेनाको अगुवाइमा निकालिएको र्यालीमा उश्रृंखल गतिविधि गर्दै एक समूहले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
भारतसँग सीमा जोडिएको क्षेत्र रानीमा हिन्दू धर्मावलम्बीहरूलाई एक समूहले अवरोध गरेपछि उत्पन्न विवाद अहिले दंगाको रूपमा परिणत भएको छ । विराटनगर १५ र १७ नम्बर वडाको सीमा क्षेत्र रानी अहिले तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरिसकेको छ ।
दुवै पक्ष एक अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
र्यालीमा सहभागी भएका जीतकुमार साहले शान्तिपूर्ण र्याली निकाल्ने क्रममा उश्रृंखल गतिविधि गर्ने समूहले आक्रमण गरेको बताए ।
उक्त र्याली विराटनगर रानी हुँदै जहदा गाउँपालिका परिक्रमा गरी महानगरपालिको १५, १६, १७ र १८ भएर बजार प्रवेश गर्ने क्रममा रानीमा झडप भएको उनले बताए ।
रामनमवी पर्वमा सबैसँग छलफल र समन्वय गरेर शान्तिपूर्ण र्याली निकाल्ने सहमतिअनुसार निकालेको उनले बताए ।
‘विराटनगर १७ नम्बर वडा प्रवेश गर्दा सुरक्षाकर्मीले रोकेपछि एक समूहले र्याली बिथोल्ने प्रयास गरेका छन्', उनले भने ।