२९ जेठ २०८३, शुक्रबार

लागुऔषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष लामा छुटे

बैशाख ६, २०८१
काठमाडौं
लागुऔषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष लामा छुटे

लागुऔषध मुद्दामा बुधवार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् ।​

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीवार उच्च अदालत पाटनमा पेस गरेको थियो ।

तर उनले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश यसअघिनै लिइसकेकाले छाडिएको प्रहरीले जनाएको छ ।​ 

उनलाई लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको छ ।

कैद र जरिवानाको फैसला भए पनि उनी फरार थिए ।​

२०६१ साउन ८ गते ५ ग्राम खैरो हेरोइनसहित काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामालाई प्रहरीले लागुऔषध कारोबारीको अभियोगमा मुद्दा चलाएको थियो ।

तर काठमाडौं जिल्ला अदालतले २०६२ जेठ १० गते फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन बिक्री वितरणका लागि पर्याप्त नभएको भन्दै लामालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनायो ।

फैसलाको समयमा उनी ६ महिनाभन्दा बढी समय हिरासत र कारागार बसिसकेकाले छुटेका थिए ।

त्यसपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

उनले तत्कालीन समयमा बरामद खैरो हेरोइन बिक्री गर्नका लागि बोकेका बयान दिएका थिए । उनलाई बिक्री वितरणमै दोषीको माग सरकारी वकिल कार्यालयले उच्चमा गरेको थियो । 

दाबी पुग्ने देखिएपछि उच्चले लामाविरुद्ध पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि लामा फरार रहेका थिए ।

कमेन्ट गर्नुहोस्