०१ असार २०८३, सोमबार

मापसे गरेर धकेलाधकेल हुँदा भिरबाट खसेर १ जनाको मृत्यु, ७ जना पक्राउ

बैशाख ६, २०८१
काठमाडौं
मापसे गरेर धकेलाधकेल हुँदा भिरबाट खसेर १ जनाको मृत्यु, ७ जना पक्राउ

रक्सीले मातेको सुरमा धकेलाधकेल हुँदा भिरबाट खसेर गोरखाको शहीद लखन गाउँपालिका–३ का १८ वर्षीय अमन गुरुङको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।​

तनहुँस्थित आबुखैरेनी गाउँपालिका–३ आबुँगाउँ स्वामी चौतारा भन्ने ठाउँमा बुधवार साँझ अमनसहित सात जना बसेर मादक पदार्थ पिएका थिए ।

सोही क्रममा भनाभन हुँदा धकेलाधकेल भएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराका अनुसार स्थानीय पुरानो कोट जङ्गलको भिरबाट अमन खसेका थिए ।

'सबै चीनजानकै साथीहरू सँगै बसेर मदिरा सेवन गरेका रहेछन्, त्यतिकैमा भनाभन भएछ, धकेल्ने क्रममा अमन भिरबाट खसेका थिए’, उनले भने ।

अमनको हत्या भएको भन्दै पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि सात जना अनुसन्धानका लागि पक्राउ गरिएको बोहराले बताए ।

पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका– ३ का रोहित घले,  आशिष काराखेती, बलराम श्रेष्ठ, सागर श्रेष्ठ,  कुशल गुरुङ , गोरखाका सन्तोष गुरुङ र एक जना नाबालक छन् ।

अमनको एक सय १० फिट तल चन्दनी खोल्सा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एसपी बोहराले भने, 'सातै जना मिलेर अमनको हत्या गर्ने योजनासहित धकेलेर मारेको होइन, रक्सी खाएको सुरमा धकेलाधकेल हुँदा उनी भिरबाट खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान जारी छ ।’

परिवारले हत्या नै भएको भनेर प्रहरीमा जाहेरी दिएकाले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्