२९ जेठ २०८३, शुक्रबार

इलाममा जमानत जफत भएपछि रविको प्रतिक्रिया– जित्न सकिएन, सिक्न सकियो

बैशाख १८, २०८१
काठमाडौं
इलाममा जमानत जफत भएपछि रविको प्रतिक्रिया– जित्न सकिएन, सिक्न सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम २ मा भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बूकाे जमानत जफत भएकोप्रति ​प्रतिक्रिया दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले जित्न नसके पनि सिक्न सकिएको बताएका हुन् ।

उनले इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै पार्टीका सदस्यलाई आग्रह गरेका छन् । इलाम २ का मतदाताले आफूहरूलाई मतसँगै ठूलो सन्देश दिएको पनि उनको भनाइ छ ।

लामिछानेले विजयी भएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन् । 

‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु,’ उनले लेखेका छन्, ‘रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यमा अनुरोध छ ।’

इलाम २ मा लामिछाने नेतृत्वको दल रास्वपाका उम्मेदवार लिम्बूको जमानत जफत भएको छ । मंगलबार बिहान सकिएको मतगणनाअनुसार सदर मतको १० प्रतिशत मत नल्याएपछि उनको जमानत जफत भएको हो ।

शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मत मात्रै पाएका छन् । यससँगै उनको धरौटी जफत हुने भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्