
इलाम क्षत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का सुहाङ नेम्वाङले पहिलो प्रतिक्रिया दिएका छन् ।
उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्ना बुवा सुवाचन्द्र नेम्वाङलाई सम्झिएका छन् ।
सांसद सुहाङले बुवाले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शिरमा राखेर साझा सपना ‘समृद्ध इलामः सुखी इलामेली’ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै उनले आफूलाई मत दिएबापत इलामेली जनताले कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु,’ उनले फेसबूकमा लेखेका छन्, ‘सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलामः सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँरूलाई विश्वास दिलाउन चाहन्छु– मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’
साथै सुहाङले आफूलाई जिताउने जनता र एमाले कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन् ।
इलामको निर्वाचनमा सप्तरङ्गी समाजको भावनालाई प्रतिबिम्बित भएको आफूले पाएको उनले बताएका छन् ।
‘हाम्रो समाज इन्द्रेणीजस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भनेजस्तै यो सयौं थुङ्गा फूलहरू मिलेर बनेको मालाजस्तै छ,’ उनले लेखेका छन्, ‘यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।’
इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ विजयी भएका हुन् । बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछिको रिक्त स्थानमा उनकै छोरा सुहाङले बाजी मारेका हुन् ।
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भए । सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।