
वेस्ट इण्डिज ‘ए’ विरुद्धको चौथो तथा जित्नैपर्ने टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित मैदानमा वेस्ट इण्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिन लागेको हो । वेस्ट इण्डिजले टस जित्दा सबै खेलमा ब्याटिङ नै रोज्दै आएको छ ।
पहिलो खेल ४ विकेटले जितेको नेपाल दोस्रो र तेस्रो खेलमा भने पराजित हुन पुगेको थियो । दोस्रो खेलमा १६१ रनको लक्ष्य पनि नेपालले भेट्याउन नसक्दा १० रनको पराजय बेहोरेको थियो ।
तेस्रो खेलमा भने वेस्ट इण्डिजविरुद्ध २२८ रनको लक्ष्य पछ्याएको नेपाल ७६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
पाँच खेलको श्रृंखलामा आजको खेल नजिते नेपालले अन्तिम खेल अगाडि नै श्रृंखला गुमाउनेछ ।
आगामी जुन १ देखि अमेरिका र वेस्ट इण्डिजका देशहरूमा हुने विश्वकपको तयारीका लागि नेपाल र वेस्ट इण्डिज 'ए'ले तयारी अन्तर्गत यो श्रृंखला खेलिरहेका हुन् ।