२२ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

इन्टरनेट सेवामा अवरोधदेखि कोशी सरकार ढाल्ने प्रयाससम्म

बैशाख २१, २०८१
काठमाडौं
इन्टरनेट सेवामा अवरोधदेखि कोशी सरकार ढाल्ने प्रयाससम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी नहुँदा भारतीय कम्पनीले रोकेको सेवा बिहीबार रातिदेखि पुनः सुचारु भएको हो । 

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले बिहीबार रातिदेखि समस्या समाधान भएको जानकारी गराएको छ ।
 बिहीबार दिउँसो ४ बजेतिरदेखि नै वल्र्डलिंक, सुबिसु,  भायानेट, सीजीजस्ता कम्पनीका इन्टरनेट सेवामा समस्या देखिएको थियो । 
००००
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचाप्रति गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ । 

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको हो । 

आम उपभोक्ताबाट अग्रिमरूपमा सङ्कलन गरेको महशुलबाट कानुनबमोजिम राज्यलाई तिर्न बुझाउनपर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाइ अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कोही कसैले कुनै कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।
००००
सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै बैठकले जापानी परराष्ट्रमन्त्री कामीकावा वोको वैशाख २३ गते हुन लागेको नेपाल भ्रमणको अवसरमा हुने द्धिपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने निर्णय गरेको छ । 
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठक आह्वान गरेका छन् । यही वैशाख २८ गते शुक्रबारका लागि बैठक आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
००००
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो ।
००००
इलामको उपनिर्वाचनपछि कोशी प्रदेशका नेताहरू सरकार ढाल्ने गिराउने खेलमा लागेका छन् । 

मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारको फेरबदल संवैधानिक हिसाबबाट हुन नसक्ने चेतावनीसहितको पत्र प्रदेश प्रमुखलाई दिएपछि विपक्षीहरू आक्रोशित बनेका छन् । 

मुख्यमन्त्रीले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको विरोधमा बोल्नु संविधानको धारा १८७ (२) विपरीत भएको आरोप उनीहरूले लगाएका छन् ।
००००
नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ ।
पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको हो ।
००००
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बिहीबार शीतलनिवासमा गइ राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरिएको हो । 
००००
नेपाली बजारमा सुनको भाउ फेरि ह्वात्तै बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुन बिहीबार २ हजार रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्