
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।
'चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेका छौं', उनले भने, 'यसबाट ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीलाई सजिलो भएको छ ।'
गाउँपालिकाले तेस्रो त्रैमासिकअन्तर्गतको भत्ता यही जेठ १ गतेदेखि वितरण शुरू गरेको हो । पालिकाले घर नजिकै ल्याएर भत्ता वितरण शुरू गरेपछि बैंकसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको वडा नम्बर ७ का ज्येष्ठ नागरिक लक्ष्मण श्रेष्ठले बताए ।
गाउँपालिकाले टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि भत्ता बुझ्न गाडी रिजर्भ गरेर पालिकाको केन्द्र तथा सदरमुकामस्थित बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
भीमसेन थापा गाउँपालिका- १, २, ३, ५, ७ र ८ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
वडा नम्बर ४ र ६ मा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्दै आएको छ ।