
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लाखौं नेपालीको अरबौं रुपैयाँ अपचलन गरी ठग्ने क्रियाकलापमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको दोहोर्याएको छ ।
लामिछाने सहकारी ठगीमा संलग्न रहेको पर्याप्त आधार रहे पनि उनले अनुसन्धान गर्ने राज्यका सबै संयन्त्र लज्जास्पद ढंगले दुरुपयोग गरेको कांग्रेस संसदीय दलको ठहर छ ।
‘लाखौं नेपाली नागरिकको सहकारीमा बचत गरेको अरबौं रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको विषयमा नेपाली कांग्रेस र संघीय संसद्को अन्य विपक्षी दलले लामो समयदेखि आवाज उठाउँदै आएको छ', दलको बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा उल्लेख छ, ‘सहकारीको रकम ठगी गर्ने कार्यमा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछाने संलग्न रहेको पर्याप्त आधारहरू तथ्य साथ सार्वजनिक भइसकेका छन् । सहकारी ठगीमा विभिन्न प्रकरणमा भइरहेको छानबिन अनुसन्धान माननीय रवि लामिछाने गृहमन्त्री भए पश्चात् छानबिन अनुसन्धान अवरुद्ध गरिएका छन् । सहकारी ठगी प्रकरणका छानबिन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई लज्जास्पद रुपले दुरुपयोग गरेको छ ।’
नेपाल प्रहरी, महान्यायाधिवक्ताजस्ता सरकारी निकाय छानबिन अवरुद्ध गर्न प्रयोग भएको कांग्रेसको भनाइ छ । यसैले रविमाथि सहकारी प्रकरणका विभिन्न ठगीमा स्वतन्त्र, निष्पक्ष छानबिनको सुनिश्चितताको लागि संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसले गरेको छ ।
संसद्मा आइतबार बोल्ने क्रममा गृहमन्त्रीले अशिष्ट, मर्यादित र हिंस्रक अभिव्यक्ति दिएको पनि कांग्रेसको भनाइ छ ।
‘गृहमन्त्रीजस्तो महत्त्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोलकल्पित, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भर्त्सना गर्दछ । सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरूलाई प्रश्न सोध्ने, विभिन्न तथाकथित विषयमा अरूलाई देखाएर आफूमाथिको अनुसन्धान र छानबिनबाट भाग्ने प्रयत्न गरेको यो बैठक ठहर गर्दछ', कांग्रेसले भनेको छ, ‘साथै उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछानेको गैरजिम्मेवार र असत्य अभिव्यक्तिप्रति यो बैठक सम्माननीय प्रधानमन्त्रीको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छ ।’
विभिन्न नेता प्रति लक्षित गरी लामिछानेले दिएको अभिव्यक्तिको छानबिन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेसले चुनौती दिएको छ ।