
पूर्वी अजरबैजान प्रान्तमा बाँध उद्घाटन गरेर फर्किएका इरानी राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उनीसँगै परराष्ट्रमन्त्री र अन्य धेरै व्यक्तिहरू पनि थिए । दुर्घटनामा उनीहरू सबैको निधन भएको छ ।
इब्राहिम राइसीले सधैं कालो पगडी लगाउँथे, जुन उनी इस्लामका पैगम्बर मोहम्मदको विरासतसँग प्रत्यक्ष रूपमा जोडिएको संकेत हो । एक धार्मिक विद्वानबाट वकिल र त्यसपछि इरानको कानूनी प्रणालीको शीर्षमा पुगेका राइसी देशको नम्बर दुई धार्मिक नेता पनि थिए । शिया धार्मिक नेताहरूको पदानुक्रममा उनी धार्मिक नेता अयातोल्लाहभन्दा एक क्रम तल मानिन्थे ।
न्यायपालिका र धार्मिक अभिजात वर्गमा गहिरो सम्बन्ध साथ स्थापित, कट्टरपन्थी र धार्मिक रूपमा रूढीवादी राजनीतिज्ञ राईसी पहिलो पटक २०१७ मा राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर, असफल भए । उनी अन्ततः २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
उनी इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपतिको रूपमा परिचित थिए । इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन् । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ ।
जब इब्राहिम राइसीले जुन २०२१ मा इरानमा सत्ता लिए, तब उनले घरेलु स्तरमा धेरै चुनौतीहरूको सामना गरेका थिए ।
एकातिर देशको सामाजिक अवस्था अप्ठ्यारो थियो भने अर्कोतिर परमाणु कार्यक्रमका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेको इरान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको थियो ।
चुनावी अभियानका क्रममा इब्राहिम राईसीले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक संकटसँग जुध्न आफू सबैभन्दा योग्य उम्मेदवार भएको बताएका थिए ।
राईसीले केही विशेष गर्न सक्नुअघि नै हिजाबको विरोध उनका लागि नयाँ चुनौती बन्यो ।
इजरायलमा हमासको आक्रमण र इजरायलको पछिल्ला कडा सैन्य प्रतिक्रियाले इरानको लागि अझ कठिन परिस्थिति सिर्जना गरेको थियो ।
यस अवधिमा इजरायलप्रति कठोर रवैया अपनाउदै इरानले यो शिया बहुल देश अब मुस्लिम संसारको नेतृत्व गर्न तयार रहेको स्पष्ट पार्ने प्रयास गरेको छ ।
इब्राहिम राइसीको जन्म सन् १९६० मा उत्तरपूर्वी इरानको पवित्र शहर मशहदमा भएको थियो । यस शहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ । उनी सानै उमेरमा उच्च पदमा पुगेका थिए ।
राईसीका बुबा मौलवी थिए । राईसी पाँच वर्षका हुँदा उनका बुवाको निधन भएको थियो ।
आफ्नो बुबाको पाइला पछ्याउँदै उनले १५ वर्षको उमेरमा कोम शहरमा अवस्थित शिया संस्थामा अध्ययन गर्न थाले ।
आफ्नो विद्यार्थीकालमा उनले मोहम्मद रेजा शाहविरुद्ध पश्चिमा देशहरूले समर्थन गरेको प्रदर्शनमा भाग लिए ।
पछि अयातुल्ला रुहोल्लाह खामेनीले सन् १९७९ मा इस्लामिक क्रान्तिमार्फत् शाहलाई सत्ताबाट हटाएका थिए ।
केवल २० वर्षको उमेरमा उनी तेहरान नजिकै रहेको काराजको अभियोजक जनरल नियुक्त भए ।
राइसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अभियोजक जनरल र त्यसपछि सन् २००४ देखि अर्को दशकसम्म न्यायिक प्राधिकरणका उपप्रमुख थिए ।
सन् २०१४ मा उनी इरानको अभियोजक जनरल बने । इरानी न्यायपालिकाको प्रमुखसमेत रहिसकेका राइसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।
उनी इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको नजिक मानिन्छन् ।
उनी उदारवादी हसन रुहानीलाई प्रतिस्थापन गर्दै जुन २०२१ मा इस्लामिक गणतन्त्र इरानको राष्ट्रपति निर्वाचित भएका थिए ।
चुनावी प्रचारका क्रममा राईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक संकटसँग जुध्न आफैंलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए ।
उनलाई ‘हुज्जातुल इस्लाम’ अर्थात् ‘प्रूफ अफ इस्लाम’ को धार्मिक उपाधि पनि दिइएको छ।
इस्लामिक क्रान्तिपछि उनले न्यायपालिकामा काम गर्न थाले र धेरै शहरहरूमा वकिलको रूपमा काम गरे ।
यस अवधिमा उनले इरानी गणतन्त्रका संस्थापक र सन् १९८१ मा इरानका राष्ट्रपति बनेका अयातुल्ला रुहोल्लाह खोमेनीबाट प्रशिक्षण पनि लिएका थिए ।
जब राईसी मात्र २५ वर्षका थिए उनी इरानको उप अभियोजक (सरकारको दोस्रो दर्जाका वकिल) बने ।
पछि उनी न्यायाधीश बने र १९९८ मा गठन गरिएको गुप्तचर न्यायाधिकरणमा सामेल भए जसलाई 'डेथ कमिटी' भनिन्छ । अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले सन् २०१९ देखि राइसीलाई प्रतिबन्ध लगाएको थियो । इरानमा राईसीको कार्यकालमा बालबालिकालाई फाँसी दिइएको र मानवअधिकारका प्रख्यात वकिलहरूलाई जेल सजाय दिइएको थियो, जसका कारण अमेरिकाले पनि राइसीमाथि प्रतिबन्ध लगाएको थियो ।
सन् १९८८ मा इरानमा राजनीतिक विपक्षीहरूलाई हटाउन ४ सदस्यीय समिति गठन गरिएको थियो। यी ४ सदस्यमा इब्राहिम राईसी पनि परेका थिए । यो समितिलाई इरानमा अनौपचारिक रूपमा 'मृत्यु समिति' पनि भनिन्छ । यस अवधिमा, त्यहाँ राजनीतिक बन्दीहरूको मृत्युदण्ड दिइएको थियो । जसमा एक अनुमान अनुसार ३ हजारभन्दा बढी राजनीतिक प्रतिद्वन्द्वीलाई फाँसी दिइएको थियो । मारिनेमा अधिकांश इरानको पिपुल्स मुजाहिदिन अर्गनाइजेसनका समर्थक थिए ।
इजरायल र इरान सन् १९७९ सम्म एकअर्काका सहयोगी थिए । सोही वर्ष इरानमा इस्लामिक क्रान्ति भयो र वैचारिक स्तरमा इजरायलको कडा विरोध गर्ने देशमा सरकार सत्तामा आयो । अहिले इरानले इजरायलको अस्तित्वलाई स्वीकार गर्दैन ।
इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायल एक 'क्यान्सरको ट्यूमर' हो र यसलाई निस्सन्देह 'उखेलिएर नष्ट गरिने' भनिरहेका छन् ।
इजरायलले पनि इरान आफ्नो अस्तित्वका लागि खतरा भएको बताउँदै आएको छ । इजरायलले इरानले प्यालेस्टाइनी सशस्त्र समूह र लेबनानमा सिया समूह हिजबुल्लाहलाई आर्थिक सहयोग गर्ने गरेको बताएको छ ।
गाजा युद्धपछि दुई देशबीचको यो शत्रुता झन् बढ्यो । अप्रिलमा इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण गरेको बताइएको छ ।
जवाफमा, केही दिनपछि इरानले इजरायलमा अभूतपूर्व र अप्रत्याशित मिसाइल आक्रमण गरेको थियो । इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो पहिलोपटक हो ।
इरान र इजरायलले विगतमा एकअर्काविरुद्ध अप्रत्यक्ष आक्रमण गर्दै आएका छन् । यी आक्रमणहरूमा एकअर्काको स्थानलाई लक्षित गर्ने समावेश छ । दुवैले त्यस्ता आक्रमणको जिम्मेवारी कहिल्यै स्वीकार गरेका छैनन् ।
यस वर्ष अप्रिलमा इरानले दमास्कसस्थित आफ्नो दूतावासमा भएको आक्रमणको बदला लिन इजरायलमाथि अभूतपूर्व र अप्रत्याशित मिसाइल आक्रमण गरेको थियो ।
प्यालेस्टिनी जनताको समर्थन सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरानको विदेश नीतिको केन्द्रबिन्दु रहेको छ । इजरायल-गाजा द्वन्द्वमा इरानले प्यालेस्टिनीहरूलाई खुलेर समर्थन गर्दै आएको छ ।