
केही वर्ष अगाडिसम्म मोरङको सुन्दरहरैचा–८ मा रहेको भुल्के सिमसार क्षेत्रमा नुहाउने मान्छेको भीड लाग्ने गरेको थियो । गर्मी याममा जमिनमुनिबाट आएको चिसो पानीमा नुहाउन आउने मानिसहरूको भीड लाग्थ्यो । नुहाउन मात्रै होइन खानेपानी लिन आउनेको भीड पनि उस्तै हुन्थ्यो । त्यहाँ जरुवा पानीका तीनवटा धारा थिए ।
तर, अहिले ती धारमा पानी आउँदैन । पानीको सतह पनि ह्वातै घटेर सिमसारको सतहमा रहेका माटो देखिन थालेको छ । धरामा पानी आउन छाडेपछि त्यहाँ आउने मान्छेको भीड पनि पातलिएको स्थानीय बताउँछन् ।
पोखरी संरक्षणका लागि भनेर डोजर चलाएपछि पानी घटेको सुन्दरहरैचा–८ की गीता पराजुलीले आरोप लगाइन् । पानी संरक्षणका लागि भनेर पोखरी खन्न डोजर लगाएपछि झनै पानी घटेको उनको भनाइ छ । ‘यहाँको पानी चिसो थियो,’ उनले भनिन्, ‘धाराको चिसो पानीमा नुहाउँदा बेग्लै आनन्द आउँथ्यो । अहिले त ती दिन सम्झने पानी छम्कनेजस्ता भए ।’
उसो त यस्तो समस्या भुल्के सिमसारमा मात्रै होइन । पूर्वी तराईंका अधिकांश सिमसारमा यस्तै समस्या छ । अझै देशैभर यस्तै समस्या छ । अधिकांश सिमसारको पानी सुक्दै गएको छ । प्राकृतिक पोखरीहरूमा पानी घट्दै जान थालेपछि स्थानीयहरू चिन्तित बनेका छन् । प्राकृतिक पोखरीमा पानी घट्दै जानु चिन्ताको विषय भएको वातावरण क्षेत्रका जानकार इरान राई बताउँछन् । ‘पछिल्लो समय जतासुकै पानीको स्रोत घट्दै गएको छ,’ उनले भने, ‘यसमा सबैभन्दा बढी दोषी हामी मानिस नै हौं ।’
प्रकृतिलाई नै असर हुनेगरी भएको खोला दोहन, वन फडानी र सिमसार क्षेत्रमा सिमेन्ट, बालुवा र ढुंगा गिटी प्रयोग गरेर संरचना बनाउनुले पनि असर गरेको उनले बताए । वन विनाश र खनिज पदार्थको अत्यधिक दोहनले प्राकृतिक पोखरी सुक्न थालेको उनको भनाइ छ ।
मोरङको बेलबारी नगरपालिका–४ मा रहेको बेतना सिमसारमा रहेका प्राकृतिक पोखरीबाट सिचाईं गर्नेहरू अहिले समस्यामा छन् । बेतना सिमसारबाट यसअघि आसपासको ठूलो क्षेत्रफलमा सिचाईं हुने गरेको थियो ।
प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारी जलवायु परिवर्तनदेखि मानवीय गतिविधिका कारण पानीका स्रोतहरू सुक्न थालेको बताउँछन् । पहिलो कारण भने जलवायु परिवर्तन नै भएको उनले बताए । ‘जलवायु परिवर्तन हुँदा वर्षा हुने क्रम अनियमित हुन्छ,’ उनले भने, ‘यसको असर परिहाल्छ ।’
भूमिगत पानीको अत्यधिक दोहनले पनि असर गरेको उनले बताए । भूमिगत पानीलाई सिचाईंका लागि तानेर प्रयोग गर्ने गरेकाले पनि पानीका स्रोतहरू सुक्दै जान थालेको उनले बताए । ‘सिमसारलाई डेकुरेसन गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रचलन तँछाडमछाड गरेर विकास भइरहेको छ । त्यसको लागि क्रंकिट संरचनाहरू धमाधम बनाउँदा तलबाट आउने पानीको मुहानहरू सुक्न थालेका छन्,’ उनले भने, ‘विकास निर्माणको काममा ह्याभी इक्वीपमेन्टहरू प्रयोग गर्ने गर्दा तिनले थिचेर पनि पानीका स्रोतहरू भासिएर सुक्ने अवस्था छ ।’
लामो समयसम्म वर्षा नहुनुका साथै चर्काे गर्मी तथा तातो हावाले पानीको स्रोतलाई सुकाउने उनको भनाइ छ । सिमसार क्षेत्रमा मानवीय गतिविधि नरोके पर्यावरणमा असर गर्ने उनले चेतावनी दिए । तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।