२३ जेठ २०८३, शनिबार
८ अर्ब ठगीका अभियुक्त सीबी

चितवनमा अर्कै महिलाको नाममा ‘रियलस्टेट’ कम्पनी, पक्राउ पर्ने डरले ४ पटक डेरा सरे

जेठ २०, २०८१
काठमाडौं
चितवनमा अर्कै महिलाको नाममा ‘रियलस्टेट’ कम्पनी, पक्राउ पर्ने डरले ४ पटक डेरा सरे

कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा भन्ने चन्द्रबहादुर तामाङले चितवनमा एक महिलाको नाममा घरजग्गा कारोबार (रियलस्टेट) कम्पनी खोलेर बसेको पाइएको छ । 

चितवनको भरतपुरस्थित क्यान्सर हस्पिटलपछाडि एक घरबाट पक्राउ परेका तामाङले चितवन भरतपुरकी डिलमाया तामाङको नाममा डिम्बा होल्डिङ प्रा.लि. कम्पनी खोली घरजग्गामा लगानी गरेको तथा बैंक खातासमेत उनै महिलाको प्रयोग गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विगत ६ वर्षदेखि पश्चिम चितवनका विभिन्न स्थानमा बस्दै आएका तामाङले त्यहाँका स्थानीयलाई आफू घरजग्गा कारोबारी रहेको भनेर परिचय गराउँदै आएका थिए । 

तामाङले महिलाकै नाममा विभिन्न बैंकमा खाता खोलेर पैसाको कारोबार गर्दै आएको पाइएको छ । अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले अहिले महिलाको नाम गोप्य राखेको छ ।

तामाङले चितवनमा मासिक १५ हजार रुपैयाँ तिरेर फ्ल्याटमा बस्दै आएका थिए । पक्राउ गर्न जाँदा डिलमायाले खाना पकाउन आएको भनेर जवाफ दिएकी थिइन् । 

सहकारी ठगी मुद्दामा तामाङसहितको समूहले ८ अर्ब बढी ठगी गरेको आरोप छ । तर, तामाङ एक्लैले निक्षेपकर्ताको एक अर्ब ५१ करोड बढी रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । 

काभ्रेको तेमाल गाउँपालिका– ५ का तामाङको विगत रोचक छ । उनले २०४९ देखि २०५२ साउनसम्म ओसिन एड्भर्टिजमेन्ट मिडियामा समाचार संकलकको रूपमा काम गरेका थिए ।

null

२०५२ मा तत्कालीन स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक ओभरसियर पदमा ८ महिना काम गरेर छाडेका थिए । 

सरकारले गत फागुन २७ गते तामाङसहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता गर्नुअघि नै तामाङलगायतको समूह फरार थियो ।

प्रहरी वृत्त बानेश्वरको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालबाट दायर भएको ठगी मुद्दामा कान्तिपुर सहकारीले ८५२ जना निक्षेपकर्ताबाट मात्रै १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी ठगी गरेको उल्लेख छ ।

ठगी मुद्दामा सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानु कान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा, देवराज पराजुली, लेखा सुपरीवेक्षण समितिको संयोजक कञ्चन तामाङ, लेखा सुपरीवेक्षण समितिका सदस्य उद्धवप्रसाद पाण्डे, लेखा सुपरीवेक्षण समितिका सदस्य अम्बिका थपलिया र पूर्वअध्यक्ष एवं व्यवस्थापक सीबी लामा भन्ने चन्द्रबहादुर तामाङलाई विपक्षी बनाइएको थियो । 

null

मुद्दा दायर भएकामध्ये तत्कालीन अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी मात्रै पक्राउ परेका थिए । 

कान्तिपुर सेभिङले आकर्षक ब्याज दिन्छु भन्दै निक्षेपकर्तालाई फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई डिपोजिटको रकम फिर्ता नगरी अन्यत्र घरजग्गा, रिसोर्ट, होटल, रेस्टुरेन्ट, अस्पताल लगायतमा लगानी गरेको पाइएको छ । लामो समयदेखि अध्यक्ष रहेका सीबीले नै लगानी गर्न मुख्य भूमिका खेलेको देखिन्छ । 

प्रहरी प्रतिवेदनअनुसार चक्रलाल श्रेष्ठसमेतका ८५२ जना जाहेरीकर्ता तथा उनीहरूको आफन्तको निक्षेप रकम मात्रै १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी भएको र फिर्ता नपाएको दाबी गरिएको थियो । त्यस्तै, अन्य बचतकर्ताहरूको रकम समेत गरी करिब ६ अर्ब रुपैयाँ कान्तिपुर सेभिङले तिर्न बाँकी रहेको छ । 

निक्षेपकर्ताको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका कान्तिपुर सहकारीका तत्कालीन ठकुरीले पूर्वअध्यक्ष तामाङ एक्लैले निक्षेपकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेको र उक्त रकमको सावाँ तथा ब्याजसमेत नतिरेको बयान उतिखेरै प्रहरीमा दिएका थिए । कान्तिपुर सेभिङले निक्षेपकर्ताको रकमबाट सहकारीको नाममा मात्रै नभएर सहकारीका सञ्चालक, उनीहरूका आफन्त र कर्मचारीको नाममा समेत घर तथा जग्गा जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

null

२०५५ सालमा तामाङले पशुपति बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । उनी २०५५ देखि २०७६ पुस २४ सम्म कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष बनेका थिए । 

सरकारले सहकारी ऐन, २०७४ मा एकै परिवारका व्यक्ति दुईवटा सहकारीमा अध्यक्ष हुन नपाउने व्यवस्था गरेपछि उनीे कान्तिपुर सहकारी छाडेर पशुपतिमा अध्यक्ष बनेका थिए । त्यहाँबाट पनि तामाङले रकम अपचलन गरेको आरोप छ ।

पशुपति सेभिङ पनि समस्याग्रस्त सूचीमा परेपछि ५४ जना पीडितले १२ करोड रुपैयाँ अपचलन भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले यस सम्बन्धमा अनुसन्धान गर्न     प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा प्रतिवेदन पठाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले तामाङविरुद्ध विभिन्न प्रहरी इकाइमा चारवटा बैंकिङ कसुरका मुद्दा चलेको बताए । त्यस्तै, तीनवटा मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ ।

null

तामाङलाई आइतबार सार्वजनिक गर्दै एसएसपी भट्टराईले भने, ‘उनी सकभर काठमाडौं नआउने र तराईकै जिल्लामा बस्ने गरेको सूचना थियो, लोकेट गर्दै जाँदा चितवनमा देखिएपछि नियन्त्रणमा लिएको हो ।’ 

अनुसन्धान कार्यालयले तामाङलाई बानेश्वर वृत्तमा बुझाएको छ । शुरूमा दुई अर्ब हाराहारीमा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । पछि उजुरीकर्ताहरू बढेको प्रहरीले जनाएको छ । तामाङ २०५९ मा कान्तिपुर अस्पतालको अध्यक्ष समेत बनेका थिए । उनले तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रालि स्थापना गरेका थिए । 

मुद्दा चलाएका बखत ८ सय ५२ जनाको उजुरी परे पनि अहिले थप सयजनाले उजुरी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्