
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीप टी–२० विश्वकपका लागि वेस्ट इन्डिज जाने जानकारी दिएको हो ।
उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको छ ।
लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर, उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त भएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रचण्ड आइतबार भारत गएका थिए । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिट पूर्ण इजलासमा पठाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको यथास्थितिमा राख्ने निर्णयलाई यथावत राख्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा सहभागी हुन यही जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् ।
००००
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले प्रदेशका सबै जिल्लामा खुला शैक्षिक पार्क निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । प्रत्येक जिल्लामा नमूनाको रुपमा १÷१ वटा पार्क निर्माण गर्ने जनमतको लक्ष्य छ ।
जनमत पार्टीको सचिवालयका अनुसार मुख्यमन्त्री सतिशकुमार सिंहको मधेश सरकारले बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्ने छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो पार्टीको आइतबारको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
००००
स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सात करोड ४० लाख ८७ हजार आठ सय ६० रुपैयाँ ५९ पैसा हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२३ मखनमा सञ्चालित सहकारीका सञ्चालकहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनि प्रलोभन देखाएर निक्षपकर्ताको रकम हिनामिना गरेको आरोप छ ।
००००
नेकपा एकीकृत समाजवादी (एस)को अध्यक्षमा माधव नेपाललाई झलनाथ खनालले टक्कर दिने भएका छन् ।
एमाले विभाजन भई २०७८ भदौ २ गते नेपालको नेतृत्वमा बनेको समाजवादीले असार १६ देखि २० गतेसम्म गर्न लागेको महाधिवेशनमा अध्यक्ष पदका लागि खनालले टक्कर दिन लागेका हुन् ।
००००
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विनाविभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
००००
कर्णाली नदीको झोलुङ्गे पुलमा अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । बाँकी दुई खच्चडको भने मृत्यु भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आइतार बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।