३० असार २०८३, मंगलबार

कहाँबाट चुनाव लड्ने भए कांग्रेसका शीर्ष नेता ?

कात्तिक २०, २०७४
कहाँबाट चुनाव लड्ने भए कांग्रेसका शीर्ष नेता ?
काठमाडौं ३ कात्तिक – मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि राजनीतिक दलहरु उम्मेदवार छनौटको अन्तिम तयारीमा छन् । मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आइतवार उम्मेदवारी मनोनयन हुँदैछ । 

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार छनौट अन्तिम चरणमा पुगेको जनाएको छ । उम्मेदवार छान्न कांग्रेस संसदीय बोर्डको बैठक पछिल्ला दिनमा लगातार बस्दै आएको छ ।
कांग्रेसले कतिपय जिल्लामा उम्मेदवारको नाम टुंगो लगाइसकेको छ भने केही स्थानमा लगाउने क्रममा छ । कांग्रेस नेता एनपी साउदले शुक्रवार नै उम्मेदवारको टुंगो लाग्ने बताएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्ने तयारीमा छन् । २०४८ सालको संसदीय चुनाव देखि पछिल्लो संविधानसभा चुनाव सम्म देउवा डडेल्धुराबाटै चुनाव जित्दै आएका छन् । पछिल्लो संविधानसभा चुनावमा देउवा कैलालीबाट समेत विजयी भएका थिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुबाट चुनाव लड्ने तयारीमा छन् । पौडेल पनि २०४८ सालदेखि नै तनहुवाट चुनाव जित्दै आएका छन् । बिगतमा तनहु २ बाट चुनाव लड्दै आएका पौडेल यसपटक भने तनहु १ बाट उम्मेदवार बन्ने पक्का भएको छ । निर्वाचन क्षेत्र निर्धारण गर्दा पौडेलले विगतमा चुनाव जितेको क्षेत्र बाढिएको छ ।

महामन्त्री डा शंशाक कोइराला यसपटक पनि पूर्वी नवलपरासीको क्षेत्रनम्बर १ बाट चुनाव लड्ने निश्चित भएको छ । शशांकले दुइवटै संविधानसभा चुनावमा नवलपरासीबाट चुनाव जितेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा शशांकको चुनावी क्षेत्रमा रहेको कांग्रेसको गढ मानिने गैडाकोट नगरपालिकामा नेकपा एमालेले चुनाव जितेको थियो । कोषाध्यक्ष सीतादेवी यादव सिराहा ३ बाट चुनाव लड्ने चर्चा छ ।

पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी पाइसकेका पूर्वगृहमन्त्री बिमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । असोज २ मा सम्पन्न स्थानीय चुनावमा निधिको गृहनगरमा कांग्रेस पराजीत भएको थियो । निधिको गृहजिल्ला धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले चुनाव जितेको थियो ।

प्रभावशाली नेता कृष्ण सिटौला समानुपातिकको सूचीमा परेका छन् । तर उनले झापा ३ बाट चुनाव लड्ने बताउँदै आएका । दोस्रो संविधानसभा चुनावमा झापा ३ बाट चुनाव जितेका थिए । राप्रपासंगको चुनावी तालमेलका कारण सिटौलाको नाम समानुपातिकमा राखिएको छ । सो क्षेत्रमा राप्रपाले दावी गरेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट चुनाव लड्ने पक्का भएको छ । पूर्वमन्त्री नवीन्द्रराज जोशीले काठमाडौं ८ बाट चुनाव लड्ने तयारीमा छन् । दुवैले संविधानसभाका दुइवटै चुनावमा सोही क्षेत्रबाट चुनाव जितेका थिए ।
काठमाडौं ५ बाट डा प्रकाशशरण महत, १० बाट राजन केसी उठ्ने भएका छन् । गत संविधानसभा चुनावमा केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए ।

कांग्रेसका दुइ प्रभावशाली नेता अर्जुननंसिह केसी र डा रामशरण महत क्रमस नुवाकोट क्षेत्रनम्बर १ र २ बाट चुनाव लड्ने भएका छन् । अर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरी ४ बाट चुनाव लड्ने भएका छन् । यसअघि उनी समानसपातिक सांसद थिए । सुनसरी ३ बाट भर्खरै कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार चुनाव लड्दैछन् ।
पूर्वमन्त्री पूर्णबहादुर खड्का सुर्खेत १, चन्द्र भण्डारी गुल्मी १, नारायण खड्का उदयपुर १ तथा राहमरि खतिवडा ओखलढुङ्गा १ बाट चुनाव लड्ने पक्का भएको छ ।

प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा झापा १, गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बन्दैछन् ।
निर्वाचन क्षेत्र घटेका जिल्लामा कांग्रेसलाई उम्मेदवारको व्यबस्थापनमा कठिनाइ देखिएको छ । शनिवार तिहार परेका कारण कांग्रेसले शुक्रवार राती अबेर सम्ममा भएपनि ३२ जिल्लाको नाम टुंगाउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्