१० साउन २०८३, आइतबार
साढे ४ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ प्रकरण

कोकिन तस्करका अनेक जुक्तिः तस्करी गर्न कपडाको बटनदेखि प्लास्टिकको क्याप्सुलसम्म प्रयोग

असार ६, २०८१
काठमाडौं
कोकिन तस्करका अनेक जुक्तिः तस्करी गर्न कपडाको बटनदेखि प्लास्टिकको क्याप्सुलसम्म प्रयोग

लागुऔषध कोकिन कारोबारमा संलग्न चार विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले चार किलो ५०४ ग्राम कोकिनसहित उनीहरूलाई बुधवार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भेनेजुलियन नागरिक सिमोन एन्टोनियो अल्फोन्जो राडा, बोलिभियन नागरिक लाउरा क्रुज टिकोना, तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगा र भारतीय नागरिक लालरुआतसांगी रहेको ब्युरोका प्रमुख एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

null

पक्राउ परेकामध्ये तान्जानियाका माबुगा फ्लाई दुबईको उडानबाट नेपाल आएका थिए । इथियोपियाको अडिस अबाबाबाट आएका उनको लागुऔषध ओसारपसारको जुक्ति अनौठो छ । उनले प्लास्टिक कोटेड गरिएका कोकिनका क्याप्सुल निलेर नेपाल आएको पाइएको ब्युरोले जनाएको छ ।

null

ब्युरोका प्रमुख एसएसपी आचार्यका अनुसार माबुगा गत जेठ २७ मै नेपाल ओर्लिएर ठमेलस्थित एक होटलमा बसेका थिए । उनलाई पक्राउ गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पुर्याएर उनको पेटमा रहेको कोकिन शौचमार्फत निकालिएको थियो । ७७ वटा क्याप्सुल बनाइएको कोकिनको परिमाण एक किलो २०६ ग्राम रहेको छ ।

null 

त्यस्तै बोलिभियन महिला टिकोनाले भने फेन्सी लुगाका बटनमा कोकिन लुकाएर ल्याएकी थिइन् । जेठ ३० गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी उनलाई प्रहरीले शंका लागेर खानतलासी गर्दा झोलाभित्र राखिएका १२१ वटा फेन्सी लुगाको बटनमा कोकिन लुकाएर ल्याएको पाइएको ब्युरोका प्रमुख आचार्यले बताए । उनका अनुसार बटनमा लुकाइएका कोकिनको तौल दुई किलो १०० ग्राम रहेको छ ।

null 

भेनेजुलियन नागरिक राडा पनि ब्राजिलको साओ पाउलोबाट ९२ वटा कोकिनका क्याप्सुल निलेर नेपाल आएका थिए । असार १ गते कतार एयरलाइन्सबाट विमानस्थलमा उत्रिएका उनले ठमेलस्थित होटलमा आफैँ पुगेर शौच विधिमार्फत कोकिन निकालेका थिए । उनलाई ब्युरोको प्रहरी टोलीले त्यतिबेलै पक्राउ गरेको थियो । उक्त कोकिनको तौल एक किलो १९८ ग्राम रहेको छ ।

null 

भारतीय महिला लालरुआतसांगी भने ती कोकिनका क्याप्सुलहरू रिसिभ गर्न नेपाल आएकी थिइन् । ब्युरो प्रमुख आचार्यका अनुसार बरामद गरिएको कोकिनको अन्तर्राष्ट्रिय अवैध मूल्य १५ करोड ७६ लाख रुपैयाँ बराबर हो । 

null

‘नेपाललाई ट्रान्जिट बनाएर कोकिन भारत लैजाने तयारी थियो, हामीले तस्करी गर्ने र रिसिभ गर्ने दुवैलाई नियन्त्रणमा लियौं,’ एसपी आचार्यले भने । पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

 
 

salt training

कमेन्ट गर्नुहोस्