
संघमा जस्तै प्रदेशमा पनि भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमा मन्त्री र प्रभावशाली नेताको हालिमुहाली चलेको छ ।
भौतिक पूर्वधारको बजेटमा मन्त्री गणेश उप्रेती र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यको हालीमुहाली चलेको हो ।
क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित सांसद आचार्यको निर्वाचन क्षेत्रमा मात्रै ९७ वटा योजना परेका छन् ।
आचार्यको क्षेत्रमा मोरङ क्षेत्र नम्बर ६ मा (१) सुन्दरहरैँचाका २, ३, ४, ५, ६, ७ नम्बर वडा पर्छन् । यस्तै, बूढीगंगाका ७ वटा र विराटनगर महानगरपालिकाको एउटा (४ नम्बर) वडा यसअन्तर्गत पर्छ ।
पछिल्लो समय मुख्यमन्त्री हिक्मत कार्कीले पनि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोभन्दा बढी आचार्यसँग छलफल गर्ने गरेको नेताहरू बताउँछन् ।
आचार्यको क्षेत्रमा लगिएका अधिकांश योजना टुक्रे प्रकृतिका छन् । उनको क्षेत्रमा मात्र प्रदेशबाट १६ करोड बजेट पर्दा ५ लाखदेखि १ करोडसम्मका योजना समेटिएका छन् ।
यस्तै, माओवादी केन्द्रकै कोशी प्रदेश कमिटी सचिव समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीको क्षेत्रमा पनि बजेटको बाढी छ ।
उप्रेतीले २७ करोडको हाराहारीमा योजना आफ्नो क्षेत्रमा पारेका छन् ।
उनको निर्वाचन क्षेत्रमा रतुवामाई नगरपालिकाका सबै वडा र सुनवर्षी नगरपालिकाका ५, ६, ७, ८ र ९ वडा पर्छन् । उनले आफ्ना क्षेत्रमा २७ करोड बराबरको योजना लगेका छन् ।
‘भौतिक पूर्वाधार मन्त्रीज्यूले अब फेरि मन्त्री भइन्छ कि भइँदैन जसरी आफ्नो क्षेत्रमा बजेट खन्याउनुभएको छ,’ एक मन्त्रीले भने, ‘यो अस्वाभाविक हो । भौतिक पूर्वाधार कार्यालय मोरङमार्फत विनियोजन भएको बजेट हेर्ने हो भने उहाँका योजना मात्रै भेटिन्छन् ।’
तर, मन्त्री उप्रेती भने आफूले मनोमानी नगरेको जिकिर गर्छन् । एमाले र कांग्रेसका प्रभावशाली नेता सांसदका समेत आयोजना थपिँदा धेरै देखिन गएको दाबी उनले गरे ।
‘एमालेबाट प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल लगायत प्रभावशाली नेता यही क्षेत्रको हुनुहुन्छ । कांग्रेसमा पनि डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला लगायतको क्षेत्र हो,’ मन्त्री उप्रेतीले लोकान्तरसँग भने, ‘यी सबै कुरा हेर्नुपर्छ, मन्त्रीले अस्वाभाविक रूपमा बजेट लग्यो भन्न मिल्दैन ।’


उनले यस्तो दाबी गरे पनि माओवादीकै सांसदहरूले समेत बजेटको विरोध गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै माओवादी केन्द्रीय सदस्य समेत रहेकी सांसद गीता तिम्सिनाले मन्त्रीहरूको क्षेत्रमा अस्वाभाविक ढंगले बजेट लगिएको दाबी गरिन् ।
आफूहरू समानुपातिकबाट आएकाले विभेद भएको भन्दै उनले सांसदको लोगो समेत अलग गर्न चुनौती दिइन् ।
‘प्रत्यक्ष निर्वाचित सांसदको लोगो परिवर्तन गरौं । बस्ने सीट पनि सुविधासम्पन्न सांसदका लागि अगाडि तोकौं,’ व्यंग्य गर्दै उनले भनिन् ।
चालु आवको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्री उप्रेती, सामाजिक विकास मन्त्री पाँच कर्ण राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानालगायतको क्षेत्रमा अस्वाभाविक ढंगले बजेट विनियोजन गरिएको सांसदहरूको आरोप छ ।
नेकपा एकीकृत समाजवादीकी एक सांसदले बजेटको किताब नै च्यात्न मन लागेको बताएकी छन् । बिहीबारको प्रदेशसभा बैठकमा बोल्दै उनले पक्षपातपूर्ण बजेटको किताब नै च्यात्न मन लागेको बताएकी हुन् ।
प्रमुख प्रतिपक्ष कमजोर
बजेटप्रति प्रमुख प्रतिपक्षीको विरोध कमजोर देखिएको छ । एउटा बैठक बहिष्कार गरे पनि प्रमुख प्रतिपक्षी कांग्रेस खासै सशक्त ढंगले प्रस्तुत हुन सकेको छैन ।
आफूहरूको विरोधको आवाज प्रदेश सरकारले सुनेका कारण सदन बहिष्कार गर्ने निर्णयबाट पछाडि हटेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बताए ।
यस्तै, संसदीय दलका नेताहरूको क्षेत्रमा मागे जति बजेट दिएपछि नेताहरू चुपचाप जस्तै देखिएका छन् ।
‘बजेटको क्षेत्रमा कडारूपमा प्रस्तुत हुने भनेको पूर्व मुख्यमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई हो,’ एक सांसदले भने, ‘उहाँले नै यसपटकको छलफलमा कडा बोल्नु भएन । उहाँको क्षेत्रमा पनि बजेट राम्रै गएको छ ।’
राईका अलावा माओवादी संसदीय दलका नेता इन्द्र आङ्वो र कांग्रेसका उद्धव थापाले पनि मागे जति बजेट पाएको सांसदहरू बताउँछन् ।