
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल नेकपा (माओवादी केन्द्र)सँग संसदमा ‘जादुयी नम्बर’ भएकाले पूरै समय नै आफूले सरकार चलाउने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा पार्टीनिकट तामाङ मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार २०८४ सम्म टिक्ने भएकाले ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरे ।
सरकार ढलिहाल्छ भनेर बाहिर चलेको हल्ला पत्याउनु नहुने प्रचण्डको भनाइ थियो ।
‘डेढ वर्ष भयो म सरकारमा बसेकै छु । तरिका मिल्यो भने पूरै अवधि ५ वर्ष नै काम गरिन्छ । तपाईँहरू पनि ढुक्क भएर काम गर्नू । हामीलाई हटाउन सजिलो छैन । संसद्मा थोरै सिट छ भनेर चिन्ता गर्नु पर्दैन । हाम्रो जादुयी नम्बर छ,’ उनले भने, ‘त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । चिन्ता लिनुपर्ने केही छैन । तैपनि हामीले राजनीतिक दलहरूसँग जे सम्झौता गरेका छौँ । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं । इमान्दारीपूर्वक नै कार्यान्वयन गर्नेछौं । त्यसैले आज के हुन्छ, भोलि के हुन्छ भन्नु बेकारको कुरा हो । त्यतातिर तपाईँहरूले दिमाग लगाउनै पर्दैन, ढुक्क भएर काम गर्नुहोस् ।’
प्रचण्डले गत फागुनमा नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नेकपा (एमाले)सँगको सहकार्यलाई अघि बढाएका थिए । नयाँ गठबन्धन हुँदा आलोपालो प्रधानमन्त्रीको कुरा आएको थियो ।
प्रधानमन्त्रीमा प्रचण्डपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबीलाई स्वाभाविक मानिएको छ ।
अर्कोतिर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसमेत प्रधानमन्त्रीमा आफ्नो पालो कुरेर बसिरहेका छन् । यस्तोमा शनिवार २०८४ सम्म आफैँ प्रधानमन्त्री रहने दाबी प्रचण्डबाट आएको छ । यो अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ ।
किनकि, प्रतिनिधिसभामा माओवादीसँग जम्मा ३२ सिट मात्र छ । अझै ३ वर्ष सरकार टिकाउन प्रचण्डले धेरै पापड बेल्नुपर्ने हुन्छ ।