
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बन्न लागेको नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलवार बोलाएको बैठकमा यी दलका नेताले नयाँ सहमतिमा समर्थन जनाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
००००
नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै आजसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
मंगलबार च्यासलमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) अनुसारको सरकार निर्माणको लागि आजसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् ।
बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। प्रचण्डले तत्काल मार्ग प्रशस्त नगर्ने भएपछि दुई दलको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न बढीमा एक महिना कुर्नुपर्ने भएको छ ।
००००
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए ।
नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।
००००
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा मंगलबार सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।
००००
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले कृषि तथा पशुपंक्षीविकास मन्त्रालयअन्तर्गत देखिएको कर्मचारी समायोजनको समस्या समाधान गर्न निर्देशन दिएकी छन् ।
समितिको मंगलबार बसेको बैठकमा उनले मन्त्रालयअन्तर्गतका कर्मचारी समायोजन नहुँदा समस्या भएकाले समायोजन गर्न निर्देशन दिएकी हुन् ।
००००
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलवार राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरूबीच सामूहिक छलफल गरिएको हो ।
००००
न्यायपरिषद्को बैठकले ८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद्को बैठकले उक्त सिफारिस गरेको हो ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मङ्गलबार थापालाई थुनामा पठाउन आदेश गरेको हो ।
००००
धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
गत शुक्रवार उक्त प्रक्रिया रद्द भएपछि ५ मध्ये एक आवेदक सन्तोषनाराणय श्रेष्ठले सर्वोच्च अदालतमा छनोट प्रक्रिया रद्द भएकोमा असन्तुष्टि जनाउँदै सोमवार रिट दायर गरेका थिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेलगत्तै रास्वापाले सचिवालय बैठकले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।