
दुई वर्ष अघि मात्रै स्थापना भएको रास्वपाका गम्भीर विवाद देखिन थालेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा स्थापित भएको रास्वपामा महामन्त्री मुकुल ढकालको प्रतिवेदनले गम्भीर विवाद सिर्जना गरेको हो ।
सभापति रविले देशभर डुलेर प्रतिवेदन लेख्न महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई जिम्मा दिएका थिए । तर ढकालले ३३ पेजको प्रतिवेदनमा पार्टी निरन्तर ओरालो लागेको र विवेकशील पार्टी बन्ने दिशामा पुगेको बताएपछि विवाद सिर्जना गरेको हो ।
सभापतिलाई बुझाउनुपूर्व नै ढकालले प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो ।
तर ढकालको प्रतिवेदनमाथि छलफल हुने गरी बुधबार बोलाइएको केन्द्रीय समिति बैठकमा महामन्त्रीका रुपमा ढकाललाई प्रस्ताव नै पेश गर्न नदिइएको हो । उनले पेश गर्नुपर्ने प्रस्ताव रविले सहमहामन्त्रीलाई दिएका हुन् ।
अघिल्लो दिनको सचिवालय बैठकले प्रतिवेदनकै आधारमा प्रस्ताव पेश गर्ने जिम्मा दिए पनि बुधवारको बैठकमा सभापतिले नदिएको आरोप लगाएका छन् । उनले पार्टीमा पेश गर्न लागेको प्रस्तावमा रविको पार्ट नभई पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरेको सञ्चारमाध्यमलाई बताएका छन् ।
ढकालले आफूमाथि अनावश्यक आरोप थोपर्ने काम भएको भन्दै बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए । तर पार्टी यसको निम्ति तयार नभएपछि उनी बैठक स्थलमा रविसँगै कालो टेप मुखमा बाँधेर उपस्थित भएका थिए ।
कुनै समय रविका अत्यन्त विश्वासिला ढकालसँग उनको सम्बन्ध चिसिँदै गएको छ ।