
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ४२ वर्षीय उमेश थापाको निधनले निकै दुःखी र स्तब्ध बनाएको बताएका छन् ।
ओलीले आज समवेदना सन्देश जारी गर्दै धेरै नबोल्ने र लजालु स्वभावका थापा काम एवं जिम्मेवारीमा जतिबेला पनि तम्तयार रहने गरेको स्मरण गर्दै थापाको निधनले निकै दुःखी बनाएको बताए ।
पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले पनि आफ्नै छिमेकी थापाको निधनले एक असल छिमेकी र गुण्डुले राम्रो युवा गुमाउनुपरेको भन्दै शोक व्यक्त गरेका छन् ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य किरण थापाले हिजोमात्रै उनीसँंगै बोलेर गएको तर आज मृत्युको खबरले दुःखी बनाएको भन्दै अकल्पनीय दुःखद् घटनाले मर्माहत बनाएको बताए । थापाको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा शव परीक्षणपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
हिजो राति फुटबल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी एक्लै सुत्न गएका उनी बिहान अचेत अवस्थामा भेटिएपछि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उनको निधन भएको बताइएको छ ।