
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतवार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।
००००
नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रभावशाली मन्त्रालयमा भागबन्डा गर्ने सहमति भएको छ । अर्थ र गृह मन्त्रालय दुई दलले लिने समझदारीजस्तै मोडालिटीमा अरु प्रभावशाली मन्त्रालयको भागबन्डा गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘नयाँ सत्ता समीकरण बनाउने सहमतिकै बेला एमालेले अर्थ र कांग्रेसले गृह मन्त्रालय लिने समझदारी भएको थियो,’ लेखकले भने, ‘बाँकी प्रभावशाली मन्त्रालय पनि यस्तै मोडालिटीमा दुई दलले लिने सैद्धान्तिक सहमति भएको छ ।’
अन्य प्रभावशाली र बजेट भएका मन्त्रालयमा सञ्चार, परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा, सहकारी विकास र पर्यटन छन् । सरकारको नेतृत्व गरेको एमालेले सञ्चार लिँदा परराष्ट्र कांग्रेसले लिनेछ । भौतिक पूर्वाधार एमालेले राख्दा कांग्रेसको भागमा ऊर्जा पर्नेछ । यी प्रभावशाली ८ मन्त्रालय कांग्रेस वा एमालेको भागमा आधा(आधा पर्ने छन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि महत्त्वपूर्ण र कामको चाप धेरै हुने मन्त्रालयमा दलबीच पावर शेयरिङ हुने जानकारी दिए ।
००००
नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार मृतावस्थामा तीनवटा शव भेटिएको छ भने दुईजनाको पहिचान खुलेको छ ।
यसैबीच बस र बाँकी यात्रु नभेटिएकाले आइतबार पनि खोजीकार्य जारी छ ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
००००
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनेसहितका तीनवटा निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने, मन्त्री छान्दा समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर गर्ने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने भएको छ ।
००००
माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बन्चित भएका छन् ।
कलेजको शुरूमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरू आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो ।
००००
प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारलाई सरेको छ ।
आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको सचिवालयले जनाएको छ ।
०००
नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले प्रदेश सभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।