
कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो इजाजत राजस्व सङ्कलन केन्द्रको आज उद्घाटन गरिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले विराटनगर–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टाबारी र झापाको चारआलीको सवारी पटके बाटो इजाजत राजस्व सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
सवारी राजस्व केन्द्र २४ घण्टा सञ्चालन हुनुका साथै यहाँबाट भारतीय सवारीसाधन सानो चारचक्केको रु पाँच सय र ठूला सवारीसाधनको रु एक हजार पाँच सय तथा स्वदेशी चारचक्के सवारीसाधनलाई प्रतिकिलोमिटर रु दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ । केन्द्रले विराटनगरबाट वार्षिक रु ४० देखि ५० करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ ।
त्यस अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारीसाधनले सहज र सरल रूपमा सेवा प्राप्त गर्ने बताए ।