२२ असार २०८३, सोमबार
प्राकृतिक प्रकोप अपडेट

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः बिहानैदेखि खोजी कार्य जारी

साउन ४, २०८१
काठमाडौं
त्रिशूलीमा दुई बस बेपत्ता घटनाः बिहानैदेखि खोजी कार्य जारी
फाइल तस्वीर ।

चितवनको भरतपुर महानगरपालिका– २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी छ ।

शुक्रवार पनि बिहानैदेखि खोजी जारी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । 

जसमध्ये २० जनाको शव फेला परेकोमा १४ को सनाखत भएको सहायक प्रजिअ भुसालले बताए । 

बस र यात्रुको खोजीका लागि करिब एक सातादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । 

खोजीका लागि विभिन्न आधुनिक प्रविधिसहितको गोताखोर टोली पनि खटेको छ । 

यसैबीच सरकारले घटनाको अनुसन्धान गर्न अध्ययन समिति गठन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको उक्त समितिले घटनास्थलको स्थलगत अध्ययन गरिसकेको छ ।  

मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । 

धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ । 

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालले भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको यसअघि जानकारी दिएका थिए ।

तर साे टोली आए–नआएकोबारे आफूलाई आधिकारिक रुपमा जानकारी नभएको चितवनका सहायक प्रजिअ भुसालले बताए ।   


 

salt training

कमेन्ट गर्नुहोस्