०२ साउन २०८३, शनिबार

८४ काे चुनाव एक्लै लड्ने माओवादीको निर्णय

साउन १५, २०८१
काठमाडौं
८४ काे चुनाव एक्लै लड्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले आसन्न २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ । चार दिनसम्म चलेको पदाधिकारी बैठककाे अन्तिम दिन मंगलवार प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीका विचार जनतासँग सोझै पुगोस् भन्ने हेतुले अर्को चुनाव एक्लै लड्ने गरी अगाडि बढ्ने निर्णय गरिएको बताए ।  

‘हाम्रो सरकारले शुरू गरेका सामाजिक न्यायका मुद्दालाई गम्भीरतापूर्वक उठाउने ,भ्रष्टाचारविरोधी अभियानलाई अगाडि बढाउने र एक्लै चुनाव लड्ने गरी तयारी गर्ने विषयमा हामीले निर्णय गरेका छौं,’ बैठकपछि उनले भने, ‘जसले गर्दा हाम्रा विचार राजनीतिक कार्यदिशा, जनतामा सोझै पुग्न सकोस् । गठबन्धन गर्दा त्यहाँभित्रका अरु पार्टीका राजनीतिक दृष्टिकोणको पनि कुरा गर्नुपर्ने हुन्छ । यसैले यो आफ्नै कुरा लाने सुवर्ण अवसर पनि हो ।’

जनतासँग टुटेको सम्बन्ध स्थापित गर्न उनीहरूबीच नै जाने निर्णय गर्नुपरेको प्रवक्ता सापकोटाले बताए । 

‘हामो वर्गसितको सम्बन्ध खुकुलो हुन पुग्यो । कडी टुटेकोजस्तो भएको छ, जनताका सुखदुःख नजोडिएकोजस्तो देखिएपछि जनतामा जाने निर्णय गरेका हौं,’ उनले भने । 

समापन बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जनतासँगको कडी टुटेको भन्दै अब आफू सुखदुःख बुझ्न निस्कने बताए । 

‘जनतासँगको सम्बन्धको कडी टुटेको छ । एकपटक जनतासँग एकाकार हुन मन छ । सुखुदुःखका कुरा सुन्न देशैभर जान मन छ भन्नुभएको छ,’ सापकोटाले भने, ‘यो कार्यक्रम केन्द्रीय समितिको बैठकपछि हुन्छ । उहाँले जोड दिएर म एकपल्ट देशव्यापी जनताको माझमा जान्छु । जनताको कुरा सुनेपछि विचार संश्लेषणतिर जान्छु भन्नभएको छ ।’

कम्युनिस्ट एकता गर्ने र धेरै अगाडिसम्म जाने गरी नेकपा (एमाले)सँग मिलेर सरकार बनाए पनि धोका पाएको माओवादीको भनाइ छ । 

‘पहिलो समीकरणमा धेरै ठूलो अवसर थियो । कम्युनिस्ट पार्टीबीच एकता भएपछि धेरै अगाडिसम्म जान सकिन्छ भन्ने थियो । त्यो रक्षा गर्न गर्न सकेनौं । एमालेले नै त्यो समीकरण तोड्ने काम गर्यो,’ उनले भने, ‘एमाले हामीसँगको सरकार तोडेर नेपाली कांग्रेससँग मिसिन पुग्यो । हामी अब लोकतान्त्रिक समाजवादउन्मुख राज्यव्यवस्थाका लागि अग्रगामी शक्तिसँग मोर्चालाई बलियो बनाउन लाग्छौं ।’

माओवादीले कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि निरन्तर प्रयत्न गर्ने पनि बताएको छ । 

मोर्चालाई बलियो बनाएर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने पनि माओवादीले जनाएको छ । 

माओवादीका योजना र कार्यक्रम स्थायी समिति र केन्द्रीय कमिटीले बनाउने प्रवक्ता सापकोटाले जानकारी दिए । यसका लागि साउन २५ गते बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको पनि उनले जनाए ।
 

salt training

कमेन्ट गर्नुहोस्