
छिमेकीले पक्की घर बनाएको र जीवनशैली पनि सुधारिएको देखेपछि बाराका राकेश मिश्र (नाम परिवर्तन) ले विदेश जाने सोच बनाए ।
युरोपेली मुलुक पोल्यान्ड गएर युरो कमाउने लोभमा उनी विदेश पठाउने दलालको खोजीमा लागे ।
खोजी गर्दै जाँदा सर्लाही हरिवनका रामेश्वर सिंहसँग उनको भेट भयो ।
सिंहले पोल्याण्ड जान ७ लाख रुपैयाँ खर्च लाग्ने बताए । मासिक १ लाख ५५ हजार तलब हुन्छ भनेपछि मिश्र ७ लाख बुझाउन तयार भए ।
शुरूमा पासपोर्ट बनाउन भनियो । त्यसपछि भिसा प्रोसेसिङका लागि भन्दै सिंहले मिश्रसँग पैसा मागे ।
शुरूमै पूरा पैसा पठाउनुपर्छ भनेपछि आफूले खातामा जम्मा गरिदिएको मिश्रको भनाइ छ ।
पैसा खातामा आएलगत्तै सिंह सम्पर्कविहीन भए । त्यसपछि मात्र मिश्रलाई आफू ठगिएको थाहा भयो ।
प्रहरीमा जाहेरी लिएर जाँदा आफूजस्तै अन्य ५५ जनालाई सिंहले ठगी गरेको रहस्य खुल्यो । सिंहले शुरूमा आफ्नो नाम सरोज यादव भनेर परिचय गराएका रहेछन् ।
मिश्रले सरोज यादवकै नाममा रहेको कुमारी बैंकको खातामा रकम जम्मा गरेका थिए । मिश्र विदेश त जान पाएनन् नै उनले पोल्यान्ड जाने नाममा सिंहलाई पठाएको ७ लाख पनि फिर्ता भएन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिंहलाई सर्लाही पुगेरै पक्राउ गर्यो । खेतमा हलो जोतिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पटके अभियुक्त सिंहविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी लिएर गए पनि विभागले सम्बोधन नगरेपछि पीडितहरू प्रहरीमा पुगेका थिए ।
प्रहरीले उनीसँगै सरोज यादव नै नाम बताउने धनुषाका रामसेवक सिंहलाई पनि पक्राउ गरेको थियो । अहिले सिंहद्वय पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अनुसन्धान कार्यालयले गत वैशाखमा अर्का २ जनालाई पक्राउ गरेर ठगी मुद्दा चलाएको थियो ।
वैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान पठाइदिने भन्दै २१९ जनालाई झुक्याएर झण्डै ४ करोड ठगी गरेको अभियोग उनीहरूमाथि छ ।
रामेछाप लिखुका नारायणबहादुर राई भन्ने राज श्रेष्ठ र झापा गौरादहका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।
पक्राउ परेकामध्ये श्रेष्ठले आफूलाई नियोनी एजुकेसन प्रालिको सञ्चालक नारायणबहादुर राई भनेर पीडितहरूलाई परिचय गराएका थिए । उनले त्यही नाममा सानिमा बैंकमा खाता खोलेका थिए ।
त्यतिमात्रै होइन, श्रेष्ठले पाण्डेको नागरिकता दुरुपयोग गरेर कामना सेवा विकास बैंकमा समेत खाता खोलेका थिए । पीडितहरूलाई यी दुई बैंक खातामा रकम जम्मा गर्न लगाएर उनी सम्पर्कविहीन भएपछि उजुरी प्रहरीमा पुगेको थियो ।
प्रहरीले अनुसन्धान गर्दा पाण्डेको नागरिकता १५ वर्षअघि नै हराएर उनले प्रतिलिपि लिइसकेका थिए । उनको नागरिकता श्रेष्ठले भेट्टाएर दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
वैदेशिक रोजगारीका नाममा छद्म नामबाट ठगी भएका यी दुई घटना उदाहरण मात्रै हुन् । घटना विवरण सामान्य लागे पनि पीडित सर्वसाधरणले लाखौं रुपैयाँ गुमाएका छन् ।
अनुसन्धान कार्यालयमा पछिल्ला दिनमा वैदेशिक रोजगार ठगीका नाममा उजुरी आउने संख्या बढ्दो क्रममा छ । प्रहरीले उजुरीका आधारमा आरोपीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।
कार्यालयको वैदेशिक ठगी अनुसन्धान पिलरका प्रमुख डीएसपी गोविन्द पन्थीका अनुसार गत आर्थिक वर्ष २९८०/२०८१ मा मात्रै ५७८ वटा उजुरीका आधारमा प्रहरीले ८४० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये ३४८ जनालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको छ । यो अवधिमा २ हजार ५४२ जना पीडित प्रहरीको सम्पर्कमा आएका थिए ।
यो आर्थिक वर्ष शुरू भएपछि मात्रै प्रहरीले १३६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ, जसमध्ये ५ जनालाई पक्राउ गरी विभाग पठाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले १२७ वटा उजुरीलाई आधार मानेर १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा उजुरी संख्या र पक्राउ पुर्जी संख्या पनि बढेको देखिन्छ । त्यो अवधिमा २०४ वटा निवेदनका आधारमा प्रहरीले २५४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
‘विदेश गएर पैसा कमाई छिट्टै धनी बन्ने सपनामा सर्वसाधरणहरू ठगिएका छन्,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने, ‘कतिपय सर्वसाधरणले त जग्गा समेत बिक्री गरेर होस् वा बन्धकी राखेर रकम झिकी दलाललाई बुझाएका छन् ।’
अनुसन्धान कार्यालयले सकभर उजुरीको व्यहोरा हेरेर पीडित र पीडकबीच मिलापत्र गराउने प्रयास गरेको देखिन्छ ।
गत आर्थिक वर्षमा मात्रै ९१ वटा उजुरीमा मिलापत्र गरेर पीडितलाई ६ करोड ४५ लाख ५९ हजार ५५० रुपैयाँ दिलाएको जानकारी एसएसपी भट्टराईले दिए ।
मिलापत्र हुनै नसक्ने र पीडकले पैसा नै तिर्न नसक्ने अवस्थामा भने अदालतमा ठगी मुद्दा दर्ता गरेको देखिन्छ । गत आर्थिक वर्षमा प्रहरीले अदालतमा दर्ता गरेका ठगी मुद्दामा ६४ करोड १२ लाख २५ हजार ७६४ बराबरको बिगो मागदाबी लिएको छ ।
अनुसन्धान कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै २४ वटा उजुरीमध्ये ५ वटामा मिलापत्र गरेर पीडितहरूलाई १६ लाख ५० हजार दिलाएको छ ।
सर्वसाधरणहरू ब्राजिल, कोलम्बिया, मेक्सिको, अमेरिका, पोर्चुगल, क्यानडा, जापान, न्युजिल्यान्ड, फ्रान्स, रोमानिया, बुल्गेरिया, क्रोएसिया, टर्की लगायतका मुलुकमा वैदेशिक रोजगारमा जाने नाममा दलालहरूलाई पैसा बुझाएर ठगिएका छन् ।
‘हामी मात्रै होइन, वैदेशिक रोजगार विभागले पनि विदेश जाने नाममा दलालहरूलाई पैसा नदिन सूचित गर्दै आएको छ, तर पनि ठगिने क्रम रोकिएको छैन,’ एसएसपी भट्टराईले भने, ‘ठगले पनि जसलाई रोजगारीको आवश्यकता छ र उसमा छिट्टै धनी बन्ने लालच देख्छ, त्यस्तै व्यक्तिलाई टार्गेटमा राख्ने गरेको देखियो ।’ ठगिनबाट जोगिन सर्वसाधारण आफैं सचेत हुनुपर्ने उनले बताए ।