
नबिल बैंक र नमस्ते पे वालेटबीच सम्झौता भएको छ ।
साझेदारीसँगै नबिल बैंकका ग्राहकले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले nBank (मोबाइल बैंकिङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन् ।
नबिल बैंक नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो ।
बैंकले नयाँ-नयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताए ।
'डिजीट़ाइजेसनमा महत्त्वपूर्ण योगदान दिँदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ,’ उनले भने ।
नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, 'नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रुपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’
उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।
यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।