३१ असार २०८३, बुधबार

चुनावमा लागेको ऋण तिर्न विदेशिए वडा अध्यक्ष

साउन २२, २०८१
बुटवल
चुनावमा लागेको ऋण तिर्न विदेशिए वडा अध्यक्ष

दाङको राप्ती गाउँपालिकाका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरुङ ऋण तिर्न भन्दै विदेश गएका छन् ।

वडा सदस्य चम्फा पुनलाई कार्यवाहक दिएर गुरुङ आइतबार बेलायत (यूके) गएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट विजयी भएका थिए ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राजीनामा नदिई वडाअध्यक्ष विदेश गएको बताए । गुरुङ यस अघि सोही वडा कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए ।  तत्कालीन वडा अध्यक्ष गोर्कणबहादुर रानाले गुरुङलाई कार्यालय सहयोगीका रूपमा राखेका थिए ।

निर्वाचनमा उम्मेदवार बन्दा, छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि गुरुङ बेलायत गएका उनकी श्रीमती संगीताको दाबी छ ।

‘निर्वाचनमा उम्मेदवार भएपछि लागेको ऋणसहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा धेरै ऋण लाग्यो,’ संगीताले भनिन्, ‘लिएको ऋणमा ब्याज थपिँदै गयो । करिब ४० लाखसम्म ऋण पुग्यो । लागेको ऋण तिर्ने कुनै उपाय रहेन, त्यहीँ भएर विदेश जानुभयो ।’

पछिल्लो समय निर्वाचन खर्चिलो बन्दै गइरहेको छ ।

वडा सदस्य पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गुरुङ विदेश गएका वडा नम्बर ८ का सचिव असलेक चौधरीले जानकारी दिए ।​

गुरुङका दुई छोरा र श्रीमती छन् । राप्ती लुम्बिनी प्रदेशको राजधानी रहेको गाउँपालिका हो ।

वडा अध्यक्ष गुरुङले आफू बेलायत पुगिसकेको समेत परिवारलाई जानकारी गराइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्