२१ असार २०८३, आइतबार

कांग्रेसले दियो बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख युनुसलाई बधाई

साउन २५, २०८१
काठमाडौं
कांग्रेसले दियो बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख युनुसलाई बधाई

नेपाली कांग्रेसले बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मुहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

कांग्रेसले उक्त अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बङ्गलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ ।

यसैगरी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेषगरी हिन्दू र बौद्ध समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ ।

कांग्रेसको शुक्रवार भएको केन्द्रीय कार्यसमितिको बैठकले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बङ्गलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बङ्गलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको उल्लेख गरेको छ ।

त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बङ्गलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व वहाल भई राजनीतिक संक्रमण अन्त्य हुने कांग्रेसको विश्वास रहेको पार्टीको निर्णयमा उल्लेख छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा भएको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

शुक्रवारको बैठकमा, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू जीपछिरिङ लामा, पद्मनारायण चौधरी, डा चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज पाण्डे, मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, तारामान गुरुङ, चन्द्रबहादुर केसी र डा आरजु राणा देउवाले बोलेका थिए ।

यस्तै अब्दुल सत्तार, नैनसिंह महर, गोविन्दबहादुर शाह, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, जावेदा खातुन जागा, हरिशरण नेपाली, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, राधा घले, धना खतिवडा, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र लक्ष्मी खतिवडाले पनि आ–आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी बैठकमा आमन्त्रित युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो मन्त्रालयबारे जानकारी गराएका थिए । केन्द्रीय कार्यसमितिको बैठक साउन २७ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्