
जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ ।
पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गर्ने जनाएको हो ।
सङ्घ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिँगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध सङ्गठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिइएको जनाएको छ ।
यस्तै, ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन आज दुई सय १५ जना केन्द्रीय सदस्यलाई सङ्गठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।
केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गरे ।
सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरबी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको उनको भनाइ थियो ।