०८ साउन २०८३, शुक्रबार

तयार भयो बुटवलको पहिलो पाँच तारे होटल 'सफ्रोन सीके', केही महिनाभित्रै सञ्चालनमा आउने

साउन ३१, २०८१
बुटवल
तयार भयो बुटवलको पहिलो पाँच तारे होटल 'सफ्रोन सीके', केही महिनाभित्रै सञ्चालनमा आउने

निजी क्षेत्रको लगानीमा बुटवलमा निर्माण भएको पाँच तारे होटल सफ्रोन सीके प्रालि सञ्चालनको अन्तिम तयारीमा जुटेको छ ।

यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल अबको केही महिनाभित्र सञ्चालनमा आउनेछ । 

सफ्रोन सीके बुटवलको पहिलो र रुपन्देहीको पाँचौं पाँच तारे होटल हो ।

सञ्चालक भूमिराज पौडेलले होटलको भौतिक निर्माणको काम करिब सकिएको लोकान्तरलाई जानकारी दिए ।  

‘होटल बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि रहेको छ,’ सञ्चालक भूमिराज भन्छन्, ‘सम्मेलन केन्द्रमा ठूला सभा सम्मेलन हुँदा त्यसको अगाडि रहेको फाइभ स्टार होटलमा बस्न पर्यटकहरूलाई सहज हुनेछ । होटलबाट भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न २४ किलोमिटरको दूरी छ ।’

होटलको लगानी जग्गासहित ४ अर्ब रुपैयाँ रहेको सञ्चालक भूमिराजले जानकारी दिए ।

null

होटलबाट नेपाल–भारत सीमा पुग्न २६ किलोमिटर दुरी रहेको छ । होटल बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा पर्छ ।

होटलको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) छन् । ५ हजार ५७४६ वर्गमिटरमा फैलिएको होटलमा १०७ वटा कोठाहरू रहेका छन् ।

पाँच तारे होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, क्यासिनो, स्पा र अन्य सुविधाहरू रहनेछन् । होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडल र श्रवण बेरिवाल रहेका छन् । होटल एक विगाहा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

३६ हजार स्क्वायरफूटमा क्यासिनो निर्माण कार्य जारी छ । होटल व्यवस्थापनको जिम्मा होटल ह्यात प्रालिले लिने गरी सम्झौता गरिएको छ ।

होटल सफ्रोन सीकेका अध्यक्ष चुन्नु पौडेलले होटलले बुटवलको पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्‍याउने अपेक्षा लिइएको बताए । 

‘होटल म्यानेजमेन्टको जिम्मा विश्वस्तरमा ख्याती कमाएको ह्यात ग्रुपले लिएको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘बुटवल–नारायणगढ सडक बनेपछि र भैरहवाको विमानस्थल राम्रोसँग चलेपछि सिफ्रोन सीके होटलले यस क्षेत्रको विकासमा एउटा इँट्टा थप्ने अपेक्षा हामीले लिएका छौं । क्यासिनो पनि अबको एक वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउनेछ ।’

null

होटलमा ब्यांकेट हल र सेमिनार हल ४ वटा रहेका छन् । फाइभ स्टारको सबै मापदण्ड पूरा गरेर फूलफेजमा सञ्चालनमा ल्याउने पौडेलको भनाइ छ । 

दुई वर्षअघि २०७९ भित्रै सञ्चालनमा ल्याउने गरी निर्माण थालिए पनि कोरोना महामारीजस्ता अप्ठ्याराले निर्माणमा ढिलाइ भएको थियो । 

रुपन्देहीमा विमानस्थललाई लक्षित गरेर अर्बौं लगानीका होटल खुल्ने क्रम जारी छ । सिद्धार्थ होटल संघ (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले रुपन्देहीमा फाइभ स्टार होटल थपिने क्रम जारी रहेको बताए । 

रुपन्देहीको पहिलो पाँच तारे होटल भने टाइगर प्यालेस रिसोर्ट हो । लुम्बिनीमा गोल्यान गु्रुपले पनि फाइभ स्टार होटल बनाउने तयारी गरेको छ ।

त्यस्तै, भैरहवाको बुद्धचोकमा पनि फाइभ स्टार होटल निर्माण जारी छ ।

रुपन्देहीका सबैजसो स्तरीय होटलको प्रमुख टार्गेट भारतीय पर्यटक हुन् । होटल सञ्चालनमा एशोदा फूडस् प्रालिको टीम रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्