
राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले मधेशी जनताका लागि मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी एउटै भएको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा बेल्दै नेता समुनले तीन दलमध्ये पनि नेकपा एमाले मधेशविरोधी भएको आरोप लगाए । महासचिव सुमनले भने, “एमालेले त मधेशी जनतालाई केही पनि दिन्न भनेर ठाडै भनेको छ ।”
वाम गठबन्धनले नेपालमा साम्यवाद लाद्न खोजेको आरोप लगाउँदै सुमनले बहुदलीय प्रतिस्पर्धाको अन्त्य गर्नका लागि एमाले र माओवादी मिलेको तर्क गरे । “वाम गठबन्धनले नेपाललाई भेनेजुयला र क्युवा बनाउन खोज्दैछ । जनता सशंकित छन् ।” सुमनले भने ।
आवश्यकता अनुसार लोकतान्त्रिक गठबन्धन निर्माण गर्न लागिएको भए पनि नेपाली कांग्रेस इमानदार नबनेको आरोप सुमनको छ । “कांग्रेससँगको तालमेलप्रति कुनै आकर्षण छैन । चुनावी तालमेल मात्रै पनि बाध्यात्मक परिस्थितको उपज हो । एमाले र माओवादीले साम्यवाद लाद्न खोजेकाले लोकतान्त्रिक गठबन्धनको आवश्यकता बनेको हो ।” सुमनको भनाई छ ।
मधेशीको माग अनुसार संविधान संशोधन गर्ने विषयमा नेपाली कांग्रेसले प्रतिवद्धता जनाउनुपर्नेमा सुमनले जोड दिएका छन् । तर आफ्नो हैसियतअनुसार कांग्रेसले तालमेलका लागि सिट बाँडफाँट गर्न तयार हुनुपर्ने सुमनको भनाई छ । तालमेल गर्ने भनिए पनि कांग्रेसले आफुखुशी उम्मेदवार बनाएको र कार्यदलको बैठकमा पनि जिम्मेवार बन्न नसकेको आरोप सुमनले लगाए ।
राजपा र संघीय समाजवादी फोरमले भने साझा उम्मेदवार तय गर्ने जानकारी सुमनले दिए ।