
सोलुखुम्बु, १३ कात्तिक– मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनका लागि दल र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र वाम गठवन्धन बनाएर एकल उम्मेदवार खडा गरेर चुनावी मैदानमा उत्रिदा नेपाली कांग्रेसले उनीहरुलाई चुनौती दिइरहेको छ ।
प्रदेश नम्बर एकमा हेभिवेट उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुमा पाँचौ पटक जित्ने दाउमा छन् ।
कस्तो छ सोलुखुम्बुमा दलहरुको भीडन्तनेपाली कांग्रेसका पुराना नेता तथा केन्द्रीय सदस्य समेत रहेका बलबहादुर केसीलाई वाम गठवन्धनको तफबाट माओवादी केन्द्रका हेमकुमार राईले चुनौती पेश गरेका छन् । ६९ हजार ४ सय २२ मतदाता रहेको सोलुखुम्बुमा नेपाली कांग्रेसका बलबहादुरलाई जित्नका लागि निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा ४ वटा स्थानीय तहमा जित निकाल्दै नेकपा एमाले पहिलो शक्ति बनेको थियो भने माओवादीले तीन स्थानीय तहमा जीत निकालेको थियो । नेपाली कांग्रेसले भने एक मात्र स्थानीय तहमा जीत निकालेको थियो ।
२०४८ सालदेखि लगातार सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसी २०६४ बाहेकका सवै चुनावमा विजयी भएका छन् । यो सहित केसी सोलुखुम्बुमा उम्मेदवार बनेको छैंटौ पटक हो । तर यसपटक उनको जीत त्यति सहज देखिदैन ।
नेकपा एमाले र माओवादीले साझा उम्मेदवार खडा गरेका छन् । स्थानीय तहमा यी दुई दलले २१ हजार ६ सय ९९ मत पाएका थिए । नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा नेपाली कांग्रेसले वाम गठवन्धन भन्दा करिब ९ हजार मत कम पाएको छ । यद्दपी स्थानीय तहमा आएको मत तलमाथि पर्न सक्छ ।