२६ असार २०८३, शुक्रबार
दुर्घटना अपडेट

बस दुर्घटनामा ज्यान गुमाएका भारतीयको शव स्वदेश लगियो

भदौ ८, २०८१
काठमाडौं
बस दुर्घटनामा ज्यान गुमाएका भारतीयको शव स्वदेश लगियो

तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकको शव स्वदेश लगिएको छ । मृत्यु भएका २७ जनाको शव भारतीय एयरफोर्सको जहाज र एयर एम्बुलेन्समार्फत शनिवार अपरान्ह महाराष्ट्रस्थित नासिक लगिएको हो । 

२५ जनाको शव जहाज तथा २ जनाको एयर एम्बुलेन्सबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले लोकान्तरलाई जानकारी दिए ।

पोखराबाट काठमाडौं जाने क्रममा शुक्रवार पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस खस्दा २७ भारतीय पर्यटकले ज्यान गुमाएका थिए । मृतकहरूको चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो । 

शव लिन भारतीय एयरफोर्सको जहाज भरतपुर विमानस्थल पुगेको थियो । प्रजिअ यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले टेलिफोनमार्फत छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय भएको हो । 

‘पोस्टमार्टम पूरा गरेपछि सबै शव भारतीय एयरफोर्स र एयर एम्बुलेन्समा राखियो । अहिले नासिकका लागि उडेको छ,’ उनले भने ।

दुर्घटनाका १६ जना घाइतेको काठमाडौंस्थित शिक्षण अस्पताल उपचार भइरहेको छ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से घाइतेहरूको अवस्था बुझ्न शनिवार नेपाल आएकी छिन् ।


 

salt training

कमेन्ट गर्नुहोस्