
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटिएको छ । आइतवार बिहान २ बजेतिर गाडी नदीमै फेला परेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले लोकान्तरलाई जानकारी दिए ।
‘गाडी भेटिएको छ । गोताखोर टोलीले आइतवार बिहान २ बजे भेट्टाएको हो । तर भीर भएकाले सडकमा ल्याउन सकिएको छैन । नदीको साइडमै राखिएको छ,’ उनले भने ।
गाडीसँगै सुनकोशी नदीमा खसेका तीनजना भने अझै बेपत्ता छन् ।
एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।
बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय पुनित सैंजु र ३७ वर्षका बलाम घटुवा छन् ।
जगातीकै २७ वर्षीय सुशान्त कक्षपति भने हाम्फालेर बाँचेको सिन्धुलीका एसपी काफ्लेले लोकान्तरलाई बताए । कक्षपतिको टाउको र पातामा चोट लागेको छ । घाइतेलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार बाकेले गाडी चलाइरहेका थिए ।
बेपत्ताको खोजी जारी रहेको एसपी काफ्लेले बताए ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो हाइलेक्स गाडी शनिवार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो ।