
काठमाडौं, १४ कात्तिक — कुनै पनि देशको भविष्य निर्धारित गर्नका लागि प्रजनन दरको भूमिका हुन्छ । जनसंख्या विशेषज्ञहरूका अनुसार, एक विवाहिता महिलाले कम्तीमा दुई बच्चालाई जन्म दिएमा जनसंख्या दर सन्तुलित रहन्छ ।

तर संसारका केही देशमा सांस्कृतिक वा आर्थिक कारणले जनसंख्या घट्दै गएको छ । ती देशका सरकारहरूले प्रजनन दर बढाउनका लागि आफ्ना नागरिकहरूलाई अनेकथरी योजना लागू गरेका छन् ।
डेनमार्कमा सरकारले जनतालाई सेक्समा लिप्त भएर प्रजनन दर बढाउन आह्वान गरेको छ । त्यहाँको प्रजनन दर १.७३ बच्चा प्रति महिला छ । डेनमार्कको एउटा ट्रभल कम्पनीले महिलाहरूलाई गर्भवती बन्न प्रेरित गरेर आकर्षक भत्ता पनि दिइरहेको छ ।
रुसमा पनि हालत सामान्य छैन । त्यहाँ सन् २००७ मा १२ सेप्टेम्बरलाई गर्भधारणसम्बन्धी आधिकारिक दिवस घोषित गरिएको थियो । त्यो दिन मानिसहरूलाई छुट्टी दिइन्छ र महिलाहरूलाई गर्भवती हुन प्रेरित गरिन्छ । त्यो दिन गर्भवती भएकी महिलाले नौ महिनापछि बच्चा पाइन् भने उनलाई फ्रिज उपहार दिइन्छ ।
जापान, रोमानिया, दक्षिण कोरिया, सिंगापुर, हङकङ र इटालीमा पनि प्रजनन दर बढाउनका लागि अनेकौं प्रयासहरू भइरहेका छन् ।
एजेन्सी