२६ असार २०८३, शुक्रबार

‘मनोसामाजिक पक्षलाई बेवास्ता नगरौं’

भदौ २५, २०८१
काठमाडौं
‘मनोसामाजिक पक्षलाई बेवास्ता नगरौं’

आज (मंगलबार) विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरू गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रमगरी यो दिवस मनाइँदै छ । समुदायलाई सचेत गराउनेगरी हरेक वर्ष रोकथामका विभिन्न प्रयास भइरहे पनि आत्महत्या कम हुनुभन्दा बढ्दो क्रममा छन् ।

लुम्बिनी प्रदेशमा पनि आत्महत्याका घटना बढिरहेका छन् । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आत्महत्याका घटना न्यूनीकरण हुन नसकेको बताए । आत्महत्याका घटना न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने, न्यूनीकरण गर्न सकिन्छ,’ कडायत भन्छन्, ‘परिवार वा अरुले बेवास्ता गरेमा मात्रै मानिस आत्महत्याको बाटो रोज्न पुग्छ ।’ विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने राष्ट्रमा नेपाल आठौं नम्बरमा पर्छ । 

लुम्बिनीमा तीन वर्षमा करिब साढे पाँच हजार ‘सुसाइड’ 
लुम्बिनीका १२ जिल्लामा पछिल्लो चार वर्षमा साढे ५ हजारले आत्महत्या गरेका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षमा प्रदेशभर ५ हजार ३८१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । 

आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/७८ मा १ हजार ४१५ जनाले आत्महत्या गरेका थिए । आव ०७८/७९ मा १ हजार ३३४ जनाले आत्महत्या गरेकोमा आ.व ०७९/०८० मा १ हजार ३०६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार आव ०८०/०८१ मा मात्रै १ हजार ३२१ जनाले आत्महत्या गरेका छन् । 

सबैभन्दा धेरै आत्महत्या हुने जिल्लामा पश्चिम नवलपरासी अगाडि छ । त्यहाँ मात्रै एक वर्षमा २५४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार चालु आव २०८१/०८२ को साउन मसान्तसम्म लुम्बिनी प्रदेशमा १२२ जनाले आत्महत्या गरेका छन् । 

मनोसामाजिक पक्षमै बेवास्ता
सामाजिक चुनौतीका रूपमा रहेको आत्महत्यालाई राज्यले नै जनस्वास्थ्यको समस्या मानेर रोकथामका प्रभावकारी उपाय अपनाउन जरुरी रहेको मानसिक रोग विशेषज्ञ डा. मनोज ढुंगाना बताउँछन् । विश्वका धेरै मुलुकले जनस्वास्थ्यको समस्याका रूपमा लिएर रोकथामका प्रभावकारी उपाय अपनाउने गरे पनि नेपालमा भने तथ्यांक संकलनमा सीमित रहेको डा. ढुंगानाले बताए । मनोसामाजिक पक्षलाई बेवास्ता गर्दा पनि समस्या निम्तिने गरेको चिकित्सक ढुंगानाको भनाइ छ । 

सामाजिक, जैविक र वंशाणुगत कारणले पनि मानिसलाई आत्महत्याको तहसम्म पुर्‍याउने गर्छ । ‘उपचारका लागि आउने धेरैजसो कुनै न कुनै हिसाबले मानसिक समस्यामा परेका छन् । त्यस्तालाई बेलैमा उचित उपचारको खाँचो छ,’ उनी भन्छन्, ‘यो बुझ्ने भनेकै नजिकैको मान्छे वा परिवारले हो ।

जनस्वास्थ्यको समस्याका रूपमा स्वीकार गरेर राज्यले नै अभियान सञ्चालन गरेका भए यो सबैको साझा अभियान पनि बन्न सक्थ्यो र दुरुत्साहन रोक्न सकिन्थ्यो ।’ अर्का मानसिक रोग विशेषज्ञ डा. सन्दीप सुवेदीले पनि राज्यले विशेष स्वास्थ्य नीति बनाएर अभियान चलाउन जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्